मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु कानूनी रूपमा अनिवार्य छ । यसले सडक दुर्घटनामा तपाईंको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, धेरै मानिसहरूको धारणा छ कि हेलमेट लगाउँदा कपाल बिग्रन्छ वा झर्न थाल्छ।
केही मानिसहरू भन्छन्- धेरै टाइट हेलमेटले टाउकोको छालामा दबाब पार्छ, जसले पसिना जम्मा गराउँछ र कपाल कमजोर बनाउँछ । अरूको विश्वास छ- हेलमेटभित्र जम्मा हुने धुलो, फोहोर वा फंगल संक्रमणले कपालको जरामा असर गर्छ।
अब प्रश्न उठ्छ- के यी दाबीहरूमा कुनै साँचो कुरा छ? के हेलमेट लगाउँदा साँच्चै कपाल झर्छ?
वास्तवमा, हेलमेट लगाउँदा कपाल झर्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन । तर, कहिलेकाहिँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्न सक्छ, जसले पसिना जम्मा हुन सक्छ र त्यसको असर स्क्याल्पमा पर्न सक्छ । यदि हेलमेट धेरै फोहोर छ, धेरै टाइट छ, वा फोहर लागेको छ भने यसले कपालमा असर पार्न सक्छ ।
तर हेलमेट कपाल झर्ने एक मात्र कारण होइन । नियमित रूपमा कपाल सफा राख्नु र हेलमेटको भित्री भाग सफा राख्नुले यस्तो समस्याबाट बच्न सकिन्छ ।
कपाल झर्ने पछाडि हार्मोनल परिवर्तन, आनुवंशिक कारण र जीवनशैली पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । अहिलेसम्मको अध्ययनले देखाउँछ कि यी कारणहरू बिना हेलमेटले मात्र स्थायी रूपमा कपाल झर्ने समस्या ल्याउँछ भन्ने प्रमाण छैन ।
कम उमेरमै कपाल झर्ने समस्या असामान्य होइन । यसको पछाडि विभिन्न कारण हुन सक्छन् र ती पत्ता लगाउनु आवश्यक छ ।
मुम्बईको जसलोक अस्पतालका छाला र ट्राइकोलोजी विभागकी सल्लाहकार डा. मैथिली कामतका अनुसार हर्मोनल परिवर्तन कपाल झर्ने मुख्य कारण हो । महिलामा थाइराइड र पीसीओडीका कारण कपाल झर्न सक्छ भने पुरुषमा वंशानुगत कारण बढी प्रभावशाली हुन्छन् । साथै, रोग, भिटामिन वा आइरनको कमी र धूम्रपानको बानीले पनि कपाल झर्ने समस्या बढाउँछ।
मुम्बईकी छाला रोग विशेषज्ञ डा. शरीफा चौसेका अनुसार धेरै टाइट हेलमेट लगाउँदा कपालको जरामा दबाब पर्न सक्छ र ती कमजोर हुन सक्छन्। ठीकसँग फिट नहुने हेलमेट लगाउँदा टाउको चिलाउने, पसिना र फंगल इन्फेक्सन हुन सक्छ। यदि हेलमेटको आकार ठीक छैन वा त्यसको भित्री भाग सफा राखिँदैन भने यो समस्या अझ बढ्न सक्छ।
डा. मैथिली कामत भन्छिन्, 'यदि तपाईं पोनीटेल वा कपाललाई कडा गरी बाँधिने हेयरस्टाइलमा हेलमेट लगाउनुहुन्छ भने, त्यसले घर्षणको समस्या ल्याउन सक्छ। किनभने यस्तो अवस्थामा हेलमेटले लगातार कपाल तानिरहन्छ। साथै, हेलमेटका किनाराले रगड्दा कपाल पनि भाँचिन सक्छ।'
हेलमेटभित्र जम्मा हुने पसिनाले चायाँ आउँछ?
धेरै मानिसहरू हेलमेट लगाउँदा चायाँ बढ्ने डर रहने बताउँछन्। यसबारे डा. शरीफा चौसे भन्छिन्, 'हेलमेटले टाउकोमा हल्का तातो र भिजेको वातावरण बनाउँछ। त्यहाँ पसिना जम्मा हुँदा फंगल वा ब्याक्टेरिया बढ्न थाल्छन्। यी फंगलले टाउकोको छाला संक्रमित गर्न सक्छन्, जसले खुजली र ड्यान्ड्रफको समस्या ल्याउँछ। त्यसैले कपाललाई सधैं सफा राख्नु र हावा वारपार हुने हेलमेट लगाउनु जरुरी हुन्छ। हेलमेट सफा राख्नु अत्यन्तै आवश्यक छ। यसो गर्दा तपाईं धेरै प्रकारका समस्या—जस्तै फंगल इन्फेक्सन, चायँ र चिलाउने समस्याबाट बच्न सक्नुहुन्छ।'