काठमाडौं- गण्डकी प्रदेशस्थित मणिपाल मेडिकल कलेज पोखराबाट सुरु भएको नर्सिङ कर्मचारीहरूको हड्तालले देशभरको स्वास्थ्य सेवा प्रभावित हुन थालेपछि एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) ले यसबारे गम्भीर चासो व्यक्त गरेको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा नर्सहरूको आन्दोलनका कारण बिरामीहरू आफ्नो उपचार पाउने मौलिक अधिकारबाट वञ्चित हुन सक्ने भन्दै वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।
अफिनका अनुसार, तत्कालीन स्वास्थ्य मन्त्रीद्वारा गरिएको मन्त्रीस्तरीय निर्णयका आधारमा सुरु भएको हड्तालले निजी अस्पतालहरू पुनः गम्भीर संकटमा पर्न सक्ने देखिएको छ।
संघले नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिकलाई आधार मानी अस्पताल र कर्मचारीबीच न्यायोचित तलब संरचना आपसी सहमतिमा तय गर्न अनुरोध गरेको छ।
अफिनले निजी र सरकारी अस्पतालबीच लगानी, आयस्रोत तथा लागत संरचनामा ठूलो भिन्नता रहेको कारणले सरकारले प्रस्ताव गरेको तलब संरचना तत्काल लागू गर्नु व्यावहारिक नभएको स्पष्ट पारेको छ।संघले स्वास्थ्य मन्त्रालय, नर्सिङ संघ र सम्बन्धित निकायहरूसँग सकारात्मक संवाद र छलफलमार्फत दिगो समाधान खोज्ने प्रतिबद्धता जनाएको छ। साथै, सेवा अवरोध वा हड्तालले बिरामीहरूको अधिकारमा नकारात्मक असर पार्ने भएकाले संयमता र सहकार्यको अपेक्षा गरेको छ।
अफिनले देशभर गुणस्तरीय, सुलभ र निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्नु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै सरकार, स्वास्थ्यकर्मी र निजी अस्पतालबीच सन्तुलित नीतिगत समाधान आवश्यक रहेको स्मरण गराएको छ।
