विराटनगर- विराट मेडिकल कलेज शिक्षण अस्पताल र आन्दोलनरत स्वास्थ्यकर्मीहरूबीच सहमति भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र प्रशासकीय अधिकृत राम प्रसाद लुइँटेलको रोहबरमा चार बुँदे सहमति गर्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको छ।
छलफलपछि निम्न सहमति बुँदाहरूमा अस्पताल प्रशासन र कर्मचारीबीच समझदारी बनेको छः
स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनको पहल गर्ने भनिएको छ। उक्त विषयमा अस्पताल प्रशासनले सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक व्यवस्था गर्ने सकारात्मक प्रतिबद्धता जनाएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीका गुनासोहरूलाई क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको विरोध प्रदर्शनका कारण प्रशासनले कुनै प्रकारको बदला वा पूर्वाग्रह नराख्ने जनाएको छ। आन्दोलनरत स्वास्थ्यकर्मीहरू आजैदेखि नियमित सेवामा फर्किने र अस्पतालको सम्पूर्ण सेवा पुनः पूर्ण रूपमा सञ्चालन हुने भएको छ।
यस सहमतिसँगै केही दिनदेखि आंशिक रूपमा प्रभावित अस्पताल सेवा पुनः सुचारु हुने भएको छ। अस्पताल प्रशासनले सहकार्य र संवादको माध्यमबाट समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
