विराटनगर- न्यूनतम तलब वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि अब नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका छन्।
शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।
आन्दोलनका कारण विराट मेडिकल कलेजको स्वास्थ्य सेवा प्रभावित बनेको थियो। यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङमा नर्स प्रतिनिधि र अस्पताल प्रशासनबीच छलफल जारी रहेको समेत बताइएको छ।
यसअघि पोखराको मणिपाल, गण्डकी मेडिकल कलेज, विराट मेडिकल कलेज लगायतमा पनि नर्स तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए। देशका अन्य निजी संस्थाहरुका नर्सहरु पनि उचित पारिश्रमिक प्राप्त नभएको भन्दै आन्दोलित छन्।
सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ। मन्त्रालयमा छलफल जारी छ।