अस्ट्रेलिया- भारतीय एकदिवसीय टोलीका उपकप्तान श्रेयस अय्यर हाल अष्ट्रेलियाको सिड्नीस्थित एक अस्पतालको आईसीयूमा उपचाररत छन्। तेस्रो एकदिवसीय खेलका क्रममा उनी पसलिमा लागेको चोटका कारण आन्तरिक रक्तस्राव भएको पाइएको छ।
शनिबार (२५ अक्टोबर) अष्ट्रेलियाविरुद्धको तेस्रो खेलमा अय्यरले एलेक्स केरीको शानदार क्याच लिँदै गर्दा पछाडि दौड्ने क्रममा बायाँ ढाडमा चोट पुगेको थियो। त्यसपछि उनलाई तुरुन्तै ड्रेसिङ रूममा लगेर अस्पताल पुर्याइएको थियो।
'श्रेयस केही दिनदेखि आईसीयूमा छन्। रिपोर्टपछि आन्तरिक रक्तस्राव पत्ता लागेपछि तुरुन्तै उपचार सुरु गरिएको हो। उनलाई दुईदेखि सात दिनसम्म अवलोकनमा राखिनेछ ताकि संक्रमण फैलिन नपाओस्,' भारतीय सञ्चारमाध्यममा चिकित्सकले भनेका छन्।
हाल उनका अवस्था स्थिर रहेको बताइएको छ। 'टीमका चिकित्सक र फिजियोले कुनै जोखिम लिएनन्। यदि तुरुन्तै उपचार नगरिएको भए अवस्था गम्भीर हुन सक्थ्यो। उनी बलियो खेलाडी हुन् र छिट्टै निको हुनेछन्,' भनिएको छ।
उनकाे भित्री चोट भएकाले पूर्ण निको हुन समय लाग्ने चिकित्सकको भनाइ छ। हालसम्म उनी क्रिकेटमा फर्किने निश्चित मिति तय गरिएको छैन।