काठमाडौँ – चिकित्सा शिक्षा आयोग (एमईसी) को स्नातक तहको कमन इन्ट्रान्स एक्जामिनेसनमा डिप्लोमा हेल्थ साइन्सका विद्यार्थीहरूमाथि भएको विभेदबारे ध्यानाकर्षण र मागसहित ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई बुझाइएको छ।
‘डिप्लोमा हेल्थ साइन्स विद्यार्थी हकहित संघर्ष समिति’ ले सोमबार मन्त्रालयमा पुगेर ४ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा डिप्लोमा पृष्ठभूमिका विद्यार्थीहरूलाई स्नातक तहमा अध्ययनका अवसर सुनिश्चित गर्न, एमईसी-बीएलको पाठ्यक्रम पुनरावलोकन गरी विभेद हटाउन, र एमईसीईई-बीएल परीक्षामा सहभागी हुन बाधा पुर्याउने व्यवस्थाहरू सच्याउन माग गरिएको छ।
मन्त्री पुनले उक्त विषय जटिल र चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पार्दै, शैक्षिक सुधारका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए। उनले ज्ञापन पत्र दर्ता गरी चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लगायतका सम्बन्धित निकायहरूसँग छलफल गरी मागहरू सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
ज्ञापन पत्रमा हस्ताक्षर गर्ने विद्यार्थी प्रतिनिधिहरूले डिप्लोमा अध्ययन पूरा गरेपछि पनि उच्च शिक्षामा प्रवेश पाउन अवरोध झेल्नुपरेको गुनासो गर्दै, विभेदपूर्ण नीति सच्याई व्यावहारिक समाधान खोजिनुपर्ने बताएका छन्।


