चितवन - भरतपुर अस्पतालमा शनिबार राति ३० वर्षीया गर्भवती संगीता विश्वकर्माको मृत्यु भएको घटनापछि सोमबार बिहान मृतकका परिवारजन र आफन्तले अस्पतालमा केहीबेर नाराबाजी गरेका छन्।
परिवारका अनुसार, संगीताको गर्भमा रहेको बच्चाको मृत्यु मङ्सिर २० गते नै भएको थियो, तर अस्पतालले समयमा शल्यक्रिया नगरी ढिलाइ गर्दा आमाकै ज्यान गएको आरोप लगाइएको छ। उनीहरूले अस्पताल प्रशासनमा ‘लापरबाही’ भएको भन्दै जिम्मेवार चिकित्सकलाई कारबाहीको माग गरेका छन्।
पीडित परिवारले आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र समेत बुझाएका थिए। तर माग बेवास्ता भएको भन्दै सोमबार पुनः प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको छ।
अस्पतालले भने आइतबार जारी गरेको विज्ञप्तिमा चिकित्सक पक्षको लापरबाही नदेखिएको दाबी गरेको छ। अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटाले विज्ञप्तिमा लेखेका छन्, ;संगीताको गर्भमा रहेको बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधि प्रयोग गरी सामान्य प्रसूति प्रक्रिया सुरु गरिएको थियो। प्रसूति क्रममा पाठेघरको मुख पाँच घर खुलिसकेको बेला अचानक बिरामी बेहोस भएकी थिइन्।'
उनका अनुसार, तत्काल कार्डियो पल्मोनरी रिससीटेसन (सीपीआर) गरी एमआईसीयुमा सारिए पनि मुटु र फोक्सो जोड्ने नसामा रगतको डल्ला जमेर (म्यासीभ पल्मोनरी भ्रम्बोइम्बोलिज्म ) मुटुले रगत पम्प गर्न नसक्दा मृत्यु भएको जनाइएको छ। अस्पतालका चिकित्सकले करिब साढे दुई घण्टासम्म ज्यान बचाउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
तर मृतकका आफन्तले यस दाबीलाई अस्वीकार गर्दै कालिका नगर अस्पतालले बच्चा जीवितै रहेको बेला आकस्मिक भन्दै रेफर गर्दा पनि शल्यक्रिया नगरी सामान्य प्रसूति गराउन खोजिएको कारण दुबैको ज्यान गएको आरोप दोहोर्याएका छन्।