भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले आफ्नो ३१औं वार्षिकोत्सव आज विशेष समारोहका बीच मनाएको छ। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेले तीन दशकको यात्रामा संस्थाले गरेको प्रगतिका साथै भविष्यका योजना प्रस्तुत गर्दै अस्पताललाई देशकै उत्कृष्ट क्यान्सर उपचार केन्द्र बनाउने संकल्प व्यक्त गरे।
डा. चालिसेले सन् १९९४ (वि.सं. २०५१) मा जम्मा दुई शैयाबाट सुरु भएको सानो प्यालियटिभ केयर युनिट आज १५० शैयाको अत्याधुनिक अस्पतालमा परिणत भएको बताउँदै यस उपलब्धिलाई “हाम्रो सबैको साझा गौरव” भने। उनले प्रारम्भिक दिनहरूमा सामना गर्नुपरेका कठिनाइ र अग्रजहरूको त्याग, समर्पण र मेहनतले नै आजको सफलता सम्भव भएको उल्लेख गरे।
हाल अस्पतालमा अत्याधुनिक डायग्नोस्टिक ल्याब, सिटी स्क्यान, सर्जरी, किमोथेरापी, रेडिएसन थेरापी, आईसीयू र प्यालियटिभ केयरसहितका सबै सेवा उपलब्ध छन्। “क्यान्सर उपचारमा समान पहुँच, करुणा र गुणस्तरीय सेवा हाम्रो स्थायी उद्देश्य हो,” उनले जोड दिए।

डा. चालिसेले भक्तपुर क्यान्सर अस्पतालले सुलभ शुल्कमा उपचार उपलब्ध गराउँदै देशबाट विदेशिने प्रवृत्ति घटाएको र यसले अरबौँ रुपैयाँ देशभित्रै बचत गर्न सहयोग पुर्याएको बताए।
उनका अनुसार, अस्पतालको क्षमता विस्तारका लागि चाँगुनारायण नगरपालिका–३ मा रहेको ४५ रोपनी जग्गा स्वीकृत भइसकेको छ, जसको प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ। सो स्थानमा नयाँ भवन निर्माण गरी अस्पताललाई ३०० शैय्यामा विस्तार गर्दै थप आधुनिक प्रविधि भित्र्याउने योजना रहेको उनले जानकारी दिए।
अवसरमा डा. चालिसेले संघीय स्वास्थ्य मन्त्रीसमक्ष अस्पतालका कर्मचारी सेवा विनियमावली र ओएनएम शीघ्र स्वीकृत गर्न अनुरोध गरे। उनका अनुसार नियमावली अभावका कारण दरबन्दी तथा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी पदपूर्तिमा कठिनाइ आइरहेको छ।
-1762786003.jpeg)
समारोहमा २० र २५ वर्षदेखि अस्पतालमा सेवा समर्पण गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो। डा. चालिसेले ती कर्मचारीहरूलाई “अस्पतालको मेरुदण्ड” भन्दै उनीहरूको प्रतिबद्धता र सेवाभावप्रति धन्यवाद व्यक्त गरे।
अन्त्यमा उनले संघीय स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय निकाय र सहयोगी संस्थाहरूलाई अस्पतालप्रति देखाइएको विश्वासका लागि आभार प्रकट गर्दै भने, “भक्तपुर क्यान्सर अस्पतालको यो ३१ वर्षको यात्रा केवल हाम्रो होइन, सम्पूर्ण समुदायको साझा उत्सव हो।”