घटनापछि मृतकका आफन्तले सोमबार दिउँसो अस्पतालमा विरोध सहित नारावाजी गदै।
चितवन - भरतपुर अस्पतालमा प्रसुती हुने क्रममा भएको मृत्यु प्रकरणमा मृतकका परिवारलाई रोजगारी दिने सहमति भएको छ। चितवनको कालिका नगरपालिका २ की ३४ वर्षीया संगीता विकको कार्तिक २२ गते प्रसुती हुने क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो।
यस्तै, मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनको तर्फबाट सहयोग उपलब्ध गराउने, घटनाको निस्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलमा अनुरोध गरी पठाउने सहमति पत्रमा हस्ताक्षर भएको छ।
सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ्ग, जिल्ला प्रहरी उपरिक्षक गोविन्द पुरी, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेल लगायत मृतककी छोरी नविना सुनार, आमा गोमा सुनार, श्रीमान जित बहादुर सहनीले हस्ताक्षर गरेका छन्। घटनापछि संगीताको परिवार र आफन्तले अस्पतालमा सोमबार दिउँसो नाराबाजी समेत गरेका थिए।
