काठमाडौं- नवजात शिशुमा देखिन सक्ने गम्भीर तर उपचारयोग्य रोगहरूको पहिचान र समयमै उपचार सुनिश्चित गर्न “न्यूबर्न स्क्रिनिङ” सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ। मिति २१ र २२ कात्तिकमा बेन्च टु क्लिनिकल रिसर्च सेन्टर (बीटीसी) को आयोजनामा भएको उक्त सेमिनारमा स्वदेशी तथा विदेशी विज्ञ र सरोकारवालाहरूको सहभागीतामा नवजात शिशुको स्वास्थ्य सुरक्षाका विविध पक्षमा विस्तृत छलफल भएको थियो।
बीटीसीका संस्थापक सदस्य डा. सन्तोष प्रधानका अनुसार सेमिनारको पहिलो दिन सरोकारवालाबीच आन्तरिक छलफल गरिएको थियो। जहाँ नवजात शिशुको स्क्रिनिङका विभिन्न नीति, चुनौती र सम्भावनामाथि गम्भीर छलफल गरिएको थियो। पहिलो दिनको सत्रमा २५ जना स्वदेशी तथा विदेशी सरोकारवालाहरू सहभागी थिए।
दोस्रो दिनको सत्रमा नवजात शिशु परीक्षणका विविध पक्षबारे प्रस्तुति थिए। साथै प्यानलगत छलफल समेत भएको थियो। सो कार्यक्रममा बाल रोग विशेषज्ञ, महिला तथा प्रसूति विशेषज्ञ, इन्डोक्राइनोलोजिस्ट, जनस्वास्थ्यकर्मी, नर्स, प्रयोगशालाकर्मी तथा विदेशी विज्ञहरू गरी करिब ६० जना सहभागी थिए।
सेमिनार इन्टरनेसनल फेडेरेसन अफ क्लिनिकल केमेस्ट्री एण्ड ल्याबोरेट्री मेडिसिन (आईएफसीसी) र इन्टरनेशनल सोसाइटी फर नियोनेटल स्क्रीनिङ (आईएसएनएस) को सहकार्यमा आयोजित थियो। कार्यक्रममा यी संस्थाका प्रतिनिधिहरूका साथै भारतको केरला हेल्थ सर्विसेज र फिलिपिन्स विश्वविद्यालय मनिलाका विज्ञहरूले पनि प्रस्तुति राखेका थिए।
विश्व स्वास्थ्य संगठन र युनिसेफका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।डा. प्रधानका अनुसार, 'कार्यक्रमको उद्देश्य न्यूबर्न स्क्रिनिङबारे जनचेतना अभिवृद्धि गर्नु, नीति निर्माणका लागि सरोकारवालाहरूबीच समन्वय बढाउनु, र अध्ययन-अनुसन्धानका निष्कर्षहरू आदान-प्रदान गर्नु हो।'
उनका अनुसार बीटीसीले पछिल्ला दुई वर्षदेखि प्रयोगशाला, संक्रामक र क्यान्सर रोगसम्बन्धी अनुसन्धान तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।
न्यूबर्न स्क्रिनिङ के हो?
न्यूबर्न स्क्रिनिङ भनेको नवजात शिशुमा हुने जन्मजात रोगहरू (जस्तै स्पाइनल मस्कुलर एट्रोफी, सिस्टिक फाइब्रोसिस, सिक्ल सेल डिजिज, थाइराइड विकार, मेटाबोलिक तथा इम्युनोलोजिकल असामान्यता) जस्ता गम्भीर तर उपचारयोग्य अवस्थाहरूको प्रारम्भिक पहिचान हो।
जन्मपश्चात बच्चाको कुर्कुच्चाबाट रगतको सानो नमुना लिएर परीक्षण गरिन्छ। प्रारम्भिक चरणमै रोग पत्ता लागेमा मृत्यु वा अपाङ्गता रोक्न सकिन्छ र बच्चाले आफ्नो पूर्ण क्षमता विकास गर्न सक्छ।
अमेरिकासहित ८० भन्दा बढी देशमा यस कार्यक्रमलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गरिएको छ। विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण तथा रोकथाम केन्द्रले परीक्षणको गुणस्तर सुधार र नयाँ रोगहरूको स्क्रिनिङ प्रणाली विकासका लागि प्राविधिक सहयोग पुर्याइरहेका छन्।
डा. प्रधानले नेपालमा पनि न्यूबर्न स्क्रिनिङलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्ने दिशामा प्रयास भइरहेको उल्लेख गरे। उनले भने, 'हामीले देखिरहेका धेरै समस्या समयमै परीक्षण भए रोक्न सकिने थिए, त्यसैले यस क्षेत्रको विकास अत्यावश्यक छ।'