मुम्बई– भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको भनेर भारतीय मिडियामा आएको समाचार धर्मेन्द्र पत्नी *हेमा मालिनीले खण्डन गरेकी छिन्।
बलिउड अभिनेत्री र बीजेपी सांसद हेमा मालिनीले आफ्ना श्रीमान् र अभिनेता धर्मेन्द्रबारे चलिरहेको समाचारप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
धर्मेन्द्र अहिले उपचारका लागि अस्पतालमा भर्ना छन्। तर केही सञ्चारमाध्यमहरूले उनीबारे केही भ्रामक समाचारहरू प्रसारण गरेपछि हेमा मालिनीले त्यसको खण्डन गरेकी हुन्।
हेमा मालिनीले एक्समा लेखेकी छन्, 'जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन! जिम्मेवार सञ्चारमाध्यमले उपचारको असर देखिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको व्यक्तिबारे कसरी झूटो समाचार फैलाउन सक्छन्?'
उनले थप लेखेकी छन्, 'यो अत्यन्तै अपमानजनक र गैरजिम्मेवाराना कार्य हो। कृपया परिवार र उसको गोपनीयताको सम्मान गर्नुहोस्।'
८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ।