काठमाडौं — स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिएको राजीनामा स्वीकृत भएको छ। स्वास्थ्य र पारिवारिक कारण देखाउँदै उनले गत शुक्रबार राजीनामा दिएका थिए। मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएपछि अब उनी औपचारिक रूपमा पदमुक्त भएका छन्।
डा. बाराकोटीले गत फागुनमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए र करिब ९ महिना विभागमा रहे। उनी यसअघि अतिरिक्त सचिवका रूपमा कार्यरत थिए। २५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका बालरोग विशेषज्ञ बाराकोटीले आफ्नो सेवायात्रा ल्याब टेक्निसियनबाट सुरु गरेका थिए।
तेह्रथुममा जन्मिएका र झापामा हुर्केका उनले मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रूपमा पनि लामो समय काम गरेका थिए।