राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका तथ्यांक निर्देशक वीरवहादुर रावल र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा अंकुर साह बीच सम्झौता हुँदै
काठमाडौं - समयमै क्षयरोगी पत्ता लगाई उपचार गर्ने उद्देश्यले प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण जडान गरिएको छ।
करिब पचास लाख पर्ने एक थान ‘मोलिक्युलर डब्लुएचओ रेकमेन्डेट र्यापिड डायग्नोस्टिक मेसिन’ जडान गरिएको हो।
सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त उपकरण जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका तथ्यांक निर्देशक वीरबहादुर रावलले जानकारी दिए। मधेश प्रदेशमा वार्षिक करिब १५ सय नयाँ क्षयरोगी र ६१० जना डिआर क्षयरोगी संक्रमित रहेको अनुमान छ । उक्त उपकरण जडानपछि मधेश प्रदेशमा रहेका संक्रमितको समयमै क्षयरोग पत्ता लगाई उपचारमा ल्याउन सकिने उनले बताए।
अस्पतालका निर्देशक डा जामुनप्रसाद सिंहले क्षयरोगको समयमै निदान तथा पूर्ण रुपमा सही उपचार हुनुपर्ने र यसका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए। क्षयरोगी पत्ता लगाउनका लागि सार्वजनिक तथा निजी साझेदारीलाई सुदृढ पार्ने, समुदायमा आधारित जागरुकता अभियानहरु कार्यान्वयन गर्ने, औषधि आपूर्ति श्रृंखला व्यवस्थापनको साथै डट्स सुधार गर्ने जस्ता विषयमा जोड दिए।
उपकरण हस्तान्तरण तथा सम्झौता कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा अंकुर साह, रजिष्टार प्राडा विनोद यादव, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, युएनडिपी लगायतका गरी करिब ३० जना कर्मचारीहरुको उपस्थिति थियो।