काठमाडौं - धनुषामा सर्पले टोकेर एक जना पुरुषको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका १ काशीपुरका ७२ वर्षीय एक पुरुषको सर्पको टोकाइका कारण मृत्यु भएको हो।
खेतमा आली बनाउने क्रममा उनलाई सर्पले टोकेको थियो। उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो। तर उपचारका क्रममा मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले हाल देशभर हुने विपद्का घटनाहरुको अभिलेख राख्दै आएको छ। प्राधिकरणले कार्तिक २५ गते नै सार्वजनिक गरेको अर्को विपद्को घटनामा अछाममा सर्पकै टोकाइका कारण एक जना पुरुष घाइते भएका छन्।
बान्नीगडी जयगढ ४ तिमिल्सैनका २० वर्षीय पुरुष खेतमा गोरु जोत्ने क्रममा सर्पले टोक्दा घाइते भएका हुन्। उनको बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।