दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी कुनै पनि विधामा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीका लागि पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। हालसम्म प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन व्यवस्था रहे पनि पीएचडी कार्यक्रम सम्बन्धित विश्वविद्यालयले तयार गर्नुपर्ने भएकाले त्यसतर्फ पहल थालिएको एमडिजिपी डा. के.के. राईले जानकारी दिए।
उनका अनुसार विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा पीएचडी कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। प्रतिष्ठानमा फुल–टाइम तीन वर्ष र पार्ट–टाइम छ वर्षको अवधिमा पीएचडी अध्ययन पूरा गर्न सकिने र स्वास्थ्यसम्बन्धी विषयमा स्नातकोत्तर गरेका विद्यार्थी भर्ना योग्य हुने उनले बताए।
प्रतिष्ठानले पहिलोपटक ‘प्राथमिक स्वास्थ्य सेवा’ क्षेत्रमा पीएचडी कार्यक्रम सुरु गर्ने प्रयास अघि बढाएको छ। शैक्षिक कार्यक्रम विस्तारको लक्ष्यसहित ‘जेनरल प्राक्टिस/प्राइमरी केयर’ केन्द्रित प्रस्तावित पीएचडी कार्यक्रमका लागि अनुसन्धान विशेषज्ञहरूसँग परामर्श गरिएको रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए।
विशेषज्ञ परामर्शमा प्रा. डा. देवराज अधिकारी, डा. निरज धिताल, स्वास्थ्य मन्त्रालयका डा. केशरबहादुर ढकाल, चिकित्सा शिक्षा आयोगका प्रा. डा. सुजन बाबु मरहट्ठा, प्रा. डा. रोहित पोखरेल, प्रा. डा. रमेश आचार्य, डा. चीनज्वाला श्रेष्ठ, डा. राजकुमार राई, जिपिएमएएएन अध्यक्ष डा. विश्व दवाडी, डा. खड्ग श्रेष्ठ, डा. मनिराज क्षेत्री, सुलोचना राई ढकाल तथा प्रा. कृष्णकुमार राईलगायतको सहभागिता रहेको थियो।