धनगढी- कैलालीको धनगढीमा नेशनल बाथरोग सेन्टरले नयाँ शाखा विस्तार गरेको छ। शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिको सहकार्यमा उक्त शाखा विस्तार गरिएको हो। शाखाको उद्घाटन धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले गरेका छन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मुडभरीले बाथरोगका उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने, 'स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउनु धनगढीवासीका लागि ठूलो राहत भएको छ। आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा निःशुल्क सेवाको व्यवस्था गर्न सेन्टरले गर्नुपर्छ।'
नेशनल बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले बाथरोगका समस्या विविध प्रकारका हुने र तिनको उपचार विशेषज्ञ टोलीद्वारा हुनुपर्ने बताए। सामान्य परीक्षणका लागि समेत बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न लक्ष्यसहित शाखा सञ्चालनमा ल्याइएको उनले बताए। को भनाइ थियो। उनले काठमाण्डौँमा जस्तै सेवा अब धनगढीमै उपलब्ध हुने उल्लेख गरे।
प्रबन्ध निर्देशक रोशन कक्षपतीले १२ वर्षअघि काठमाण्डौँमा स्थापना भएको नेशनल बाथरोग सेन्टर विस्तार हुँदै हाल देशका ८ जिल्लामा शाखा चलिरहेको बताए। उनले धनगढीमा नवौँ शाखा भएको जानकारी दिए। उनले सुदूरपश्चिमका बिरामीलाई सहजताका लागि यस शाखा स्थापना गरिएको बताउँदै बाथरोगका सम्पूर्ण परीक्षण तथा उपचार स्थानीयमै सम्भव हुने स्पष्ट पारे।