काठमाडौं - नर्सका माग सम्बोधनका लागि गठित कार्यदलले सबै सदस्यले हस्ताक्षर नगरे बहुमतले प्रतिवेदन पास गर्ने तयारी गरेको छ।
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको समय सकिएपनि कार्यदलका केही सदस्यले हस्ताक्षर गर्न नमानेकोले प्रतिवेदन पेश हुन नसकेको अवस्थामा कार्यदलले यस्तो तयारी गरेको स्रोतले बतायो।
प्रतिवेदन तयार गर्दाेको अवस्थामा सबै सहमत भएपनि हस्ताक्षर गर्ने समयमा केही सदस्यले लफडा निकालेपछि यस्तो तयारी गरिएको कार्यदलका एक सदस्यको दाबी छ । प्रतिवेदन तयार गर्दाेसम्म तयार भएका सदस्यहरुले मिडियाबाजी गरेरप्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएको ती सदस्यले आरोप लगाए ।
एक स्रोतले भन्यो - ‘अब बहुमतले प्रतिवेदन पास हुन्छ ,सकेसम्म सबैको सहमती खोज्ने हो नभए सधैं एउटै विषयमा अल्झिने समय छैन।’
यद्यपि, अझै पनि कार्यदलका सबै सदस्य बसेर सहमतिको प्रयास भने जारी राखिने स्रोतले जानकारी दियो।
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समयसीमा मंसिर १५ गते नै सकिसकेको छ। कार्यदलका केही सदस्यहरुले उनीहरुको माग प्रतिवेदनमा लेख्न नमानेको कारण हस्ताक्षर नगर्ने बताउँदै आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन गरे अनुसार सेवा सुविधाको माग गर्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरुले गत असोज ८ गते आन्दोलनको सुरुवात गरेका थिए।
उक्त आन्दोलनलाई निजी मेडिकल कलेज तथा अस्पतालका नर्सहरुले देशव्यापी रुपमा अघि बढाएका थिए। सरकारी स्तरमा कार्यरत नर्सहरुले समेत निजी क्षेत्रमा कार्यरत नर्सको आन्दोलनमा समर्थन जनाएका थिए। नर्सहरुको आन्दोलन देशव्यापी बन्न पुग्दा कतिपय मेडिकल कलेज तथा अस्पतालका सेवा सुविधा ठप्प भएको थियो। उक्त समस्या समाधानक लागि कार्यदल गठन गरिएको थियो ।