बागलुङ- जिल्लाको निसीखोला गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो।
समुदायमा नागरिकको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले वडाभित्र रहेका १० जना स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको वडा अध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिए।
'महिला स्वास्थ्य स्वयंसेविका हाम्रो समाजको धरोहर हुन्। स्वस्थ समाज निर्माणमा यिनीहरूको भूमिका महत्वपूर्ण हुन्छ। उनीहरूलाई उत्प्रेरणा जगाउन मोबाइल फोन वितरण गरिएको हो,' अध्यक्ष विश्वकर्माले भने, 'हात–हातमा मोबाइल फोन भएपछि गर्भवती महिला र बालबालिकाको खोपका लागि फलोअप गर्न सहज हुनेछ। यसले आम नागरिकलाई पनि सेवा प्राप्त गर्न सजिलो बनाउँछ।'
उनले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यबाट प्राप्त सेवा–सुविधा न्यूनतम मात्र रहेको भन्दै वडास्तरबाट थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको बताए।
टारीफाँट आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख विमला परियारका अनुसार, स्वयंसेविकाको हात–हातमा मोबाइल फोन भएपछि गण्डकी प्रदेशमा सञ्चालन भइरहेको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रममा गर्भवती दर्ता, नियमित फलोअप तथा बालबालिकाको खोप कार्यक्रममा थप सहयोग पुग्नेछ।
उनका अनुसार वितरण गरिएको मोबाइलमा नेपाली भाषामा टाइप गर्न सकिने सुविधा रहेको छ। 'पहिले गाउँमा कुनै महिला गर्भवती भएमा स्वयंसेविकाले घरमै पुग्नुपर्ने बाध्यता थियो। केही वर्षअघि ‘मेडिक मोबाइल’ कार्यक्रममार्फत स्वयंसेविकालाई मोबाइल फोन उपलब्ध गराइएको थियो,' परियारले भनिन्, 'त्यसैबाट गर्भवती दर्ता गर्ने र बालबालिकाको खोपका लागि फोन सम्पर्क गर्ने काम हुन्थ्यो। ती मोबाइल पुराना भइसकेकाले अहिले नयाँ मोबाइल वितरण गरिएको हो। यो स्वयंसेविकाका लागि प्रोत्साहन पनि हो।'
उनले मोबाइल फोनकै माध्यमबाट स्वास्थ्य संस्थासँग सेवा प्रवाहमा थप सहजता हुने बताइन्।
वडाध्यक्ष विश्वकर्माका अनुसार शैक्षिक रूपमा कमजोर तथा ग्रामीण र दुर्गम क्षेत्रमा बस्नेले नियमित गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने तथा कतिपय अवस्थामा घरमै सुत्केरी हुने जोखिम रहने भएकाले मोबाइलमार्फत नियमित सम्पर्कमा राखी स्वास्थ्य संस्थामा ल्याउने पहलका लागि मोबाइल फोन वितरण गरिएको हो।
उनका अनुसार पछिल्लो समय वडाभित्र घरदैलो कार्यक्रम, आमा समूहको बैठकमार्फत स्वास्थ्य सेवासम्बन्धी जानकारी प्रदान गर्ने कार्य पनि भइरहेको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्थानीयस्तरमा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनीहरूले सुरक्षित मातृत्व, शिशु तथा परिवार नियोजन कार्यक्रम, नवजात शिशु स्याहार, बालरोग, पोषण, यौन तथा यौनजन्य रोग, नसर्ने रोग, व्यक्तिगत सरसफाइ तथा विभिन्न जनस्वास्थ्य अभियानमा समुदायलाई सहयोग गर्दै आएका छन्। साथै प्राथमिक उपचारमा सहयोग पुर्याउँदै स्वास्थ्यसम्बन्धी जनचेतना समुदायसम्म पुर्याउने कार्य पनि गर्दै आएका छन्।
विशेषगरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि ‘मेडिक मोबाइल’को सहयोगमा गण्डकी प्रदेशमा सञ्चालन भइरहेको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम प्रभावकारी बन्दै गएको छ, जसका कारण नियमित गर्भजाँच गर्ने गर्भवती महिलाको संख्या वृद्धि भएको छ।
यसका साथै फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहयोगमा सञ्चालित कार्यक्रमहरूले स्वास्थ्य आमा समूहको नियमित बैठक, स्वास्थ्य शिक्षा प्रदान, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक उपकरण खरिदमा सहयोग पुर्याउँदै आएका छन्। परियोजनाले जिल्लाका स्वास्थ्य संस्थामा प्रयोगशाला (ल्याब) स्थापना तथा गर्भवती महिलाका लागि प्रसूति प्रतीक्षालय निर्माण समेत गर्दै आएको छ।