काठमाडौं- भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा ल्याएको छ। अब ब्राकिथेरापी आवश्यक पर्ने बिरामीले परीक्षणदेखि उपचारसम्मका सबै सेवा एकै कोठामा प्राप्त गर्न सक्ने भएका छन्, जसले उपचार प्रक्रिया झनै छरितो, सुरक्षित र बिरामीमैत्री हुने सेन्टरले जनाएको छ।
क्यान्सर सेन्टरका अध्यक्ष तथा क्लिनिकल अन्कोलोजिस्ट डा. सिमित सापकोटाका अनुसार शरीरभित्रै विकिरण प्रवाह गरिने ब्राकिथेरापी प्रविधिले क्यान्सर प्रभावित अंगलाई काटेर हटाउनुपर्ने आवश्यकता धेरै हदसम्म घटाउँछ र स्वस्थ अंगहरू जोगिन मद्दत गर्छ।
'पहिले बिरामीले अलग–अलग स्थानमा धाउनुपर्थ्यो, अब सबै सेवा एकै ठाउँमा समेटिएको छ,' डा. सापकोटाले भने, 'यो सेवा विस्तार संस्थाको गुणस्तर सुधारतर्फको महत्वपूर्ण कदम हो।'
सेन्टरले २०१९ देखि ब्राकिथेरापीमार्फत विभिन्न प्रकारका क्यान्सरको उपचार गर्दै आएको छ। प्राप्त उत्कृष्ट नतिजाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र सम्मेलनहरूमा प्रस्तुत हुँदै आएका छन्। नेपालमा मुख्यतः पाठेघरको मुखको क्यान्सरमा प्रयोग हुने यो प्रविधि सेन्टरले ओठ–जिब्रो, फोक्सो, कलेजो, अन्ननलीलगायत अन्य क्यान्सरमा पनि सफलतापूर्वक प्रयोग गर्दै आएको जानकारी डा. सापकोटाले दिए।
उनका अनुसार उपचारका मौलिक अनुभव र परिणामका कारण भारत, साउदी अरब, क्यानडा, अस्ट्रेलिया, अफ्रिकासहितका देशहरूमा उनीहरूले किनोट स्पिकरको रूपमा आफ्नो काम प्रस्तुत गर्ने अवसर पाएका छन्।
क्लिनिकल अन्कोलोजिस्ट डा. सुभाष पण्डितले नेपालमै प्राप्त उत्कृष्ट उपचार नतिजाले अन्तर्राष्ट्रिय चासो बढेको बताए। 'अमेरिकासहित धेरै देशका टोलीहरू यस क्षेत्रमा भएका प्रगतिबारे हेर्न र सिक्न काठमाडौं क्यान्सर सेन्टर आएका छन्,' उनले भने। उनका अनुसार ‘सेंटर अफ एक्सिलेन्स’का रूपमा सेवा विस्तार गरिएको नयाँ सुइटले उपचारलाई झन प्रभावकारी र मापदण्डअनुकूल बनाउने छ।
ब्राकिथेरापी सेवामा क्लिनिकल अन्कोलोजिस्ट, इन्टरभेन्सनल रेडियोलोजिस्ट, क्यान्सर सर्जन, रेडिएशन अन्कोलोजिस्ट, मेडिकल फिजिसिस्टलगायतको बहु–विषयक टोली संलग्न हुने बताइएको छ।
यससँगै, संस्थाले हालसम्म प्रकाशित अनुसन्धान, उपचार अनुभव र तथ्यांकलाई समेटेर ‘https://brachy.kccrc.org/’ नामक समर्पित वेबसाइट पनि सार्वजनिक गरेको छ।