काठमाडौं- नेपाल मेडिकल काउन्सिलको आसन्न निर्वाचनमा एक उपाध्यक्ष र सदस्यका उम्मेदवारहरु मतदाताहरुसँग मत माग्ने काममा सक्रिय छन्। काउन्सिलमा उम्मेदवारी दिएका उम्मेदवारहरुले स्वास्थ्यखबरमा आफ्ना एजेन्डाहरु पठाइरहेका छन्। यसरी ऐजेन्डा पठाउनेहरुलाई स्वास्थ्यखबरले तपाईंको उम्मेदवार किन भन्ने प्रश्न गर्दै उनीहरुको एजेन्डा र दाबीलाई प्रकाशन गर्न सुरु गरेको छ।
काउन्सिलको सदस्य पदकी उम्मेदवारमध्ये एक हुन् डा सारिका गोइत। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिनेमध्ये उनी एक मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले स्वास्थ्य क्षेत्रको सुधार र काउन्सिलको प्रणालीगत पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी दिएको बताएकी छन्।
काउन्सिलमा उनको उम्मेदवार दर्ता नम्बर २८ हो।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसबाट एमबीबीएस र काठमाडौँ विश्वविद्यालयबाट एमडी (गाइनोकोलोजी) गरेकी डा. गोइत अहिले चिकित्सकहरुसँग आफ्ना पक्षमा मत मागिरहेकी छिन्। नीतिगत स्पष्टता र पेशागत अनुशासनका लागि लगातार आवाज उठाउँदै आएकी उनी स्वच्छ नेतृत्व र परिवर्तनका लागि अगाडि सरेको बताउँछिन्।
नोबल मेडिकल कलेजमा रेसिडेन्सीका क्रममा ‘रेसिडेन्ट्स अधिकार’ को पक्षमा लडेकी डा. गोइतले निडर र जिम्मेवार नेतृत्वका गुण प्रदर्शन गरेको उनीसँगै काम गरेका चिकित्सकहरु बताउँछन्। उनको उम्मेदवारीलाई काउन्सिलका पूर्व पदाधिकारीले पनि समर्थन जनाइरहेका छन्।
यस्ता छन् डा गोइतका प्रमुख एजेन्डाहरु
१. कार्यस्थलमा हुने दुर्व्यवहार अन्त्य
चिकित्सकलाई सुरक्षित र सम्मानजनक वातावरण दिनका लागि तयार भएको ‘कार्यस्थल दुर्व्यवहार नीति’लाई तुरुन्त कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरिन्।
२. चिकित्सकलाई झन्झटरहित सेवा
कागजी झन्झट, अनावश्यक ढिलाइ र अस्पष्ट प्रक्रियाबाट चिकित्सकलाई मुक्त गर्दै सजिलो, द्रुत र पारदर्शी सेवा प्रणाली लागू गर्ने उनको योजना छ।
३. काउन्सिलका सेवाको डिजिटलाइजेसन
समयअनुसार काउन्सिलका सम्पूर्ण सेवा, प्रक्रिया र अभिलेखलाई डिजिटल बनाइ चिकित्सकको पहुँच सुधार गर्ने उनी बताउँछिन्।
४. लाइसेन्स प्रणालीमा सुधार
हाल प्रयोगमा रहेको अस्थायी र स्थायी लाइसेन्स–दुई प्रकारको संरचना अन्त्य गरी स्पष्ट, न्यायोचित र समान लाइसेन्स प्रणाली लागू गर्ने डा. गोइतको प्रमुख प्रतिबद्धता हो।