पोखरा- गण्डकी प्रदेश सरकारले मातहतका ११ अस्पतालका व्यवस्थापन समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सबै ११ अस्पतालका समितिलाई पुनर्गठन गर्दै नयाँ नेतृत्व तोकेको हो।
सरकारका प्रवक्ता डा. टकराज गुरुङका अनुसार यसपटक लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, दमौली अस्पतालमा कमलामोहन वाग्ले, बुर्तिबाङ अस्पताल (बागलुङ) मा कमल भुसाल, पर्वत अस्पतालमा यामबहादुर नेपाली र धौलागिरी प्रादेशिक अस्पताल (बागलुङ) मा श्रीप्रसाद शर्मालाई अध्यक्ष तोकिएको छ।
त्यसैगरी, बेनी अस्पतालमा डेकबहादुर बानियाँ, नवलपुरको मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, स्याङ्जा अस्पतालमा दिलकुमार भुजेल र मनाङ अस्पतालमा अर्विन गुरुङलाई जिम्मेवारी दिइएको छ।
दलगत भागबन्डाअनुसार नेतृत्व
यसपालि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष छनोटमा दुई राजनीतिक दलबीच भागबन्डा मिलाइएको छ। नेपाली कांग्रेसले मध्यबिन्दु (नवलपुर), लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बागलुङको बुर्तिबाङ अस्पतालको नेतृत्व पाएको छ भने एमालेले धौलागिरी, म्याग्दी, मनाङ, स्याङ्जा तथा जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष पाएको छ।
गठन आदेशअनुसार पदपूर्ति
गण्डकीमा हाल १४ साधारण तथा २ आयुर्वेदसहित १६ अस्पताल प्रदेश सरकार मातहत छन्। सरकारले जारी गरेको नयाँ गठन आदेशअनुसार १०० शय्याका अस्पतालमा स्नातक उत्तीर्ण र सम्बन्धित जिल्लाको स्थायी बासिन्दालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।
९ सदस्यीय समितिमा स्थानीय तहका प्रतिनिधि, महिला सदस्यसहित मन्त्रालयले मनोनीत गरेका दुई व्यक्ति, प्रशासन तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, अस्पतालका स्थायी विशेषज्ञ चिकित्सक, नर्सिङ प्रमुख र मेडिकल सुपरिन्टेन्डेन्ट (सदस्य–सचिव) रहने व्यवस्था छ।
५० शय्याका अस्पतालमा पनि स्नातक तहका स्थानीय बासिन्दालाई अध्यक्ष तोकिनेछ भने समितिमा प्रवीणता प्रमाणपत्र तहका व्यक्तिमध्ये एक महिलासहित दुई सदस्य रहनेछन्।
२५ शय्याका अस्पतालका लागि भने सम्बन्धित जिल्लाका स्थायी बासिन्दामध्येबाट प्रदेश सरकारले मनोनयन गर्ने व्यक्ति अध्यक्ष बन्ने प्रावधान राखिएको छ।