काठमाडौं- नेपाल मेडिकल काउन्सिल निर्वाचनमा सदस्य पदका उम्मेदवार डा हरिप्रसाद रिजालले काउन्सिलको सुधारका लागि आफू चुनावी मैदानमा उत्रेको बताएका छन्।
काउन्सिल निर्वाचनको उम्मेदवार नम्बर १५ रहेका डा रिजालले स्वास्थ्य क्षेत्रमा हुँदै आएका चुनौतीलाई व्यवस्थित समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै काउन्सिलका सदस्यको रूपमा मुख्य पाँच प्रमुख एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
न्याम्सबाट एनेस्थेसियोलोजीमा एमडी गरेका रिजाल हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्टका रूपमा कार्यरत छन्।
यस्ता छन् डा रिजालका एजेन्डाहरु
१. स्वास्थ्य क्षेत्रमा हुने लापरवाही र गलत अभ्यास रोकथाम
रिजालले स्वास्थ्य सेवा वितरणमा हुने अव्यवस्था, लापरवाही र गलत अभ्यासको नियमित अनुगमन गरी विश्वसनीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य प्रस्तुत गरेका छन्। साथै स्वास्थ्य क्षेत्रमा रोजगारीका अवसरहरू सन्तुलित रूपमा विस्तार गर्ने उनले प्रतिवद्धता जनाएका छन्।
२. चिकित्सकहरूको तलब–सुविधा समयमै र न्यायोचित बनाउने
मेडिकल अफिसर, रेसिडेन्ट र विशेषज्ञ चिकित्सक रहँदाको अनुभवसहित, उनले समयमै तलब, न्यायोचित सुविधा र जिम्मेवारीअनुसारको पारिश्रमिक प्रणालीलाई संस्थागत गर्ने योजना अघि सारेका छन्।
३. चिकित्सकका कानुनी समस्यामा प्रभावकारी हस्तक्षेप
पेसागत जोखिम बढिरहेका बेला चिकित्सकहरूको कानुनी जटिलता समाधानका लागि काउन्सिल–नियत प्रभावकारी कानुनी संयन्त्र विकास गर्ने उनी बताउँछन्।
४. नेपाली चिकित्सकको डिग्री अन्तर्राष्ट्रिय स्तरमा मान्यता
विदेशमा रोजगारी तथा उच्च शिक्षाका अवसर बढाउँदै नेपाली चिकित्सकहरूको विश्वव्यापी पहिचान विस्तार गर्ने लक्ष्यसहित उनले मेडिकल डिग्रीहरूको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउने एजेन्डा अघि सारेका छन्।
५. चिकित्सक र काउन्सिलबीचको दूरी घटाउने
काउन्सिलको सेवा, पहुँच र संवाद प्रणालीलाई आधुनिक र सहज बनाउँदै चिकित्सकहरूको पहुँच सुधार गर्ने उनले बताएका छन्।