काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अर्थोपेडिक्स विभागबाट विशिष्टकृत सेवा सुरु गरेको छ।
आफ्ना सेवा सुविधालाई थप परिष्कृत गर्दै प्रतिष्ठानले अर्थोपेडिक्स विभागबाट युनिट विभाजन गरी विशिष्टकृत सेवा दिन सुरु गरेको हो।
स्पाइन, स्पोर्टस मेडिसिन एण्ड जोइन्ट रिकन्सट्रक्सन तथा जेनरल एण्ड कम्प्लेक्स लिम्ब रिकन्सट्रक्सन गरी तीन वटा युनिटमा विभाजन गर्दै विशिष्टकृत सेवा सरु गरेको प्रतिष्ठानले जनाएको छ।
स्पाइन युनिटले घाँटी तथा मेरुदण्डको हड्डी खिइएको, मेरुदण्डको हड्डी सरेको, ढाडका नशा च्यापिएको जस्ता समस्याहरुको शल्यक्रिया तथा उपचार गर्दछ। उक्त युनिट अन्तर्गत आइतबार र बुधबारका दिन प्राडा गुरु प्रसाद खनाल, प्राडा राजु रिजाल, डा प्रमोद बराल र दिपेन्द्र मिश्राले जेनेरल ओपिडीका साथै पेयिङ्ग सेवा दिनेछन्।
स्पोर्टस मेडिसिन एण्ड जोइन्ट रिकन्सट्रक्सन युनिटले खेलकुदको समयमा हुन सक्ने माशंपेशी च्यातिने, जोर्नी तथा अन्य अंगहरुमा चोट लाग्ने, हड्डी भाँचिने जस्ता समस्याको उपचार गर्दछ। यो युनिटमा सोमबार र बिहीबार प्राडा राजिव महर्जन, डा विष्णु पोखरेल, डा अमित बिक्रम शाह र डा आशिष कुमार पाण्डेले सेवा दिनेछन्।
साथै जेनरल एण्ड कम्प्लेक्स लिम्ब रिकन्सट्रक्सन युनिले जन्मजात हात खुट्टा बाङ्गा टिङ्गा भएका, लडेर वा घटना दुर्घटनामा परि हात हात खुट्टा भाँचिएकाहरुको उपचार गर्ने प्रतिष्ठानले जनाएको छ। यो युनिटमा भने हरेक मंगलबार र शुक्रबार डा अमित लिम्बु, डा जितेन्द्र शाह र डा याम बहादुर गुरुङले सेवा दिनेछन्।
आगामी दिनमा हाडजोर्नी विभागमा हड्डीको क्यान्सर सम्बन्धी शल्यक्रिया तथा उपचारका लागि अर्थोपेडिक्स अंकोलोजी युनिट, बच्चाहरुको हड्डीको उपचार सम्बन्धी पेडियाट्रिक अर्थोपेडिक युनिट र खुट्टा सम्बन्धीका लागि फुट एण्ड एंकल सर्जरी युनिट जस्ता विशिष्टकृत सेवाहरु विस्तार गर्ने विभागीय प्रमुख प्राडा राजु रिजालको योजना छ।