काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) को आगामी निर्वाचनलाई लक्षित गर्दै डा. उत्तम कुमार गौतमले चिकित्सक समुदायसमक्ष आफ्नो दृष्टि, योजना र सुधारका एजेन्डा सार्वजनिक गरेका छन्। हित, पेशागत सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तर उन्नतिलाई मूल एजेन्डामा राख्दै उनले “सुगम, पारदर्शी र चिकित्सकमैत्री काउन्सिल” निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
आदरणीय चिकित्सक, सहकर्मी तथा स्वास्थ्य समुदायका सदस्यहरूलाई सम्बोधन गर्दै डा. गौतमले आफू काउन्सिललाई समयानुकूल र सेवामुखी संस्थामा रूपान्तरण गर्न चाहेको बताए। “हाम्रा स्वास्थ्यकर्मीले सुन्ने, सहजीकरण गर्ने र सशक्त बनाउने व्यवस्थाको हकदार छन्,” उनले भने, “मेरो एजेन्डा व्यवहारिक सुधार, पहुँच वृद्धि, पेशागत आचरण सुदृढीकरण, र देशभर गुणस्तरीय चिकित्सा सेवाको विस्तारमा केन्द्रित छ।”
एजेन्डाका प्रमुख बुँदा
डा. गौतमले अघि सारेका प्रमुख सुधार कार्यक्रमहरू यस प्रकार छन्-
- सुगम र सहयोगी नेतृत्व
- एनएमसी सेवाहरूको प्रयोगकर्ता–मैत्री डिजिटलाइजेसन
- लागत–अनुकूल सेवा प्रवाह
- लाइसेन्सिङ परीक्षाको विकेन्द्रीकरण
- वर्कसप तथा तालिममार्फत पेशागत आचरण र अनुशासन सुदृढीकरण
- सीपीडीको व्यवहारिक र भौगोलिक कार्यान्वयन
- र्यापिड रेस्पोन्स टिमको स्थापना
- एडभोकेसी, लबीइङ र चिकित्सकहरूसँग प्रत्यक्ष पहुँच
उनकाे भनाइमा काउन्सिलले चिकित्सकका समस्या, आकांक्षा र कार्य–वातावरणलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ। 'सबैको आवाज प्रतिनिधित्व गर्न सक्ने सक्षम काउन्सिल निर्माणमा तपाईंहरूको भरोसा र समर्थन अपेक्षित छ,' उनले भने।
एनएमसीको आगामी निर्वाचनलाई लक्षित गरिएका यी योजनालाई चिकित्सक समुदायले कत्तिको साथ दिने भन्नेप्रति अब ध्यान केन्द्रित भइरहेको छ।