काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अधिवेशन आगामी पुस १० देखि १२ गतेसम्म लुम्बिनी प्रदेशमा हुने भएको छ। संघका कार्यबाहक अध्यक्ष रमिला चौलागाईंको अध्यक्षतामा २०८२ मंसिर २२ गते बसेको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो।
संघका अनुसार हालसम्म ४० भन्दा बढी जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी जिल्लाहरूमा भने पुसको पहिलो साताभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ। अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूको सन्दर्भमा आवश्यक प्रक्रियागत निर्णय गर्न सम्बन्धित प्रदेश अध्यक्षहरूलाई जिम्मेवारी तोकिएको संघले जनाएको छ।
संघका अध्यक्ष रामजी घिमिरेले व्यक्तिगत कारण देखाउँदै आफू अध्यक्ष पदमा जारी रहन नसक्ने भन्दै उपाध्यक्ष रमिला चौलागाईंलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए।
स्वास्थ्यकर्मीहरूको संरचना सुदृढीकरण, संगठन विस्तार र आगामी नेतृत्व चयनमा निर्णायक मानिएको आगामी केन्द्रीय अधिवेशनका लागि तयारी तीव्र बनाइएको संघले जनाएको छ।