काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आधारभूत स्वास्थ्य सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीमै अनावश्यक चाप सिर्जना भएको बताएकी छन्। इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा बोल्दै उनले आधारभूत तहबाट उपलब्ध हुनुपर्ने सेवाका लागि ठूला अस्पताल धाउँदा औषधि नपाइने, स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब पर्ने र सेवा प्रभावित हुने अवस्था आएको उल्लेख गरिन्।
उनका अनुसार देशभर आधारभूत स्वास्थ्य सेवा विश्व स्वास्थ्य संगठनको निर्देशिकामा आधारित भएर वैज्ञानिकरूपमा तयार गरिएको प्याकेजअनुसार उपलब्ध गराइँदै आएको छ।
मन्त्री गौतमले सेवा प्रवाहका प्रोटोकल तयार गर्दा सरोकारवाला निकायसँग निरन्तर छलफल तथा सरकारी लगानी गरिएको भए पनि स्थानीय तहले जिम्मेवारीअनुसार सेवा विस्तार गर्न नसक्दा समस्या बढेको बताइन्। 'आधारभूत सेवा लिनुपर्ने स्थान स्थानीय तह हो, तर त्यही सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने परिपाटीले अनावश्यक भिड र अव्यवस्था निम्त्याएको छ,' उनले भनिन्।
उनले आयुर्वेद सेवा विस्तार, नसर्ने रोग रोकथाम, स्वास्थ्य बीमामा देखिएको अस्पष्टता हटाउने, औषधि तथा मेडिकल प्रयोगशाला सेवालाई प्राथमिकता दिइने र मानसिक स्वास्थ्य सेवा सुदृढ पारिने बताइन्। साथै अन्य देशका बीमा संरचनाका अध्ययनमार्फत स्वास्थ्य बीमा कार्यक्रमलाई झनै प्रभावकारी बनाउनेतर्फ सरकार लागिपरेको उल्लेख गरिन्।
यस्तो छ इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा मन्त्री गौतमले राखेको धारणा
जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी भइरहेका कामहरु सुन्नका लागि लागि म यहाँ उपस्थित भएको हुँ। यद्यपि सेवा प्रवाहबारे हामीले अपनाएका प्रक्रियाहरूका बारेमा मात्रै मैले जानकारी पाएँ। अर्थमन्त्री र स्वास्थ्यमन्त्री दुवै उपस्थित भइरहँदा के कस्ता कार्यक्रमले प्रत्यक्ष जनतालाई सेवा दिन सकिन्छ भन्ने जानकारी पाउन पाए अझै कार्यक्रम प्रभावकारी हुन्थ्यो भन्ने मलाई लाग्छ।
स्वास्थ्य सेवा प्रवाहमा हामी कहाँ पुग्यौं र के गर्न बाँकी छ भन्ने सारांश प्राप्त गर्न सके हाम्रो छोटो कार्यकाललाई बढी उपलब्धिमूलक बनाउन सकिन्थ्यो भन्ने लाग्छ। हाल हामीसँग भएको आधारभूत स्वास्थ्य सेवा तथ्यमा आधारित छ। हाम्रो आधारभूत स्वास्थ्य सेवाको प्याकेज विश्व स्वास्थ्य संगठनले बनाएको निर्देशिकाको आधारमा बनाइएको छ। यदि कसैलाई आधारभूत स्वास्थ्य सेवाको प्याकेजभित्र अनावश्यक सेवाहरूलाई पनि समावेश गरिएको छ भन्ने लाग्छ भने त्यो वैज्ञानिक र तथ्यपरक नभएको पनि म जानकारी गराउँछु।
आधारभूत स्वास्थ्य सेवाहरू कहाँबाट र कसरी प्रदान गर्ने भन्ने विषयमा सरोकारवाला निकायहरूसँग पनि छलफल गरेरै प्रोटोकल बनाइएको छ। यस्ता छलफलमा समेत सरकारले ठूलो लगानी गरेको छ। त्यसभित्र रहेका विषयहरुलाई थपघट गर्न भने हामीले जवाफ पाएका छैनौँ।
हाम्रो आधारभूत स्वास्थ्यभित्र अत्यावश्यक रहेका सबै सेवाहरू समावेश गरिएको छ। यद्यपि स्थानीय तहहरूबाट पाउनुपर्ने यस्ता सेवाका लागि ठूला तथा विशिष्टीकृत अस्पताल धाउने परिपाटीले भने समस्या सिर्जना गरेको छ। आधारभूत स्वास्थ्य सेवा लिनका लागि विशिष्टीकृत अस्पताल धाउनाले त्यस्ता अस्पतालहरुमा अनावश्यक भिड बढ्दै गएको छ। जसकारण औषधि नपाइने तथा स्वास्थ्यकर्मीहरूमाथि बढी चाप पर्ने गरेको देखिन्छ।
त्यस्तै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवालाई कसरी उपलब्ध गराउने तथा आयुर्वेदका कार्यक्रमहरूलाई प्राथमिकता कसरी दिन सकिन्छ भन्ने बारेमा अध्ययन आवश्यक छ। हामीले नसर्ने रोगहरू रोकथामका क्षेत्रमा बढी काम गर्नुपर्ने अवस्था छ। बीमाप्रति केही बुझाई सेवाग्राहीहरूमा पनि अस्पष्टता रहेको अवस्था छ। स्वास्थ्य बीमालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नका लागि अन्य देशको बीमा प्रणालीका बारेमा पनि बुझिरहेको छु। औषधि तथा मेडिकल प्रयोगशाला लाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु। त्यस्तै मानसिक स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ।