काठमाडौं- सैन्य सरकारद्वारा गरिएको हवाई आक्रमणले म्यानमारको पश्चिमी भागस्थित एक प्रमुख अस्पतालमा कम्तीमा ३० जना मारिएका छन्। करिब ७० जना घाइते भएको बताइएको छ।
शासनविरुद्ध लडिरहेको अराकन आर्मीका प्रवक्ता खाइन थु खाले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार पश्चिमी राखाइन राज्यको म्राउक–उ सहरमा रहेको सो अस्पताललाई बुधबार राति सैन्य विमानबाट बम फालेर आक्रमण गरिएको थियो।
'म्राउक–उ जनरल अस्पताल पूर्ण रूपमा नष्ट भएको छ,” उनले भने, 'अस्पतालमै सिधा प्रहार भएकैले ठूलो संख्यामा जनधनको क्षति भयो।'
२०२१ को कू मार्फत नोबेल विजेता आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि उत्पन्न विरोध प्रदर्शन दमन गरिएको घटनापछि म्यानमार देशव्यापी द्वन्द्वमा डुबेको छ।
३ सय बेड क्षमता भएको अस्पताल घटनाको बेला बिरामीहरूले खचाखच भरिएको थियो। राखाइन राज्यका धेरै क्षेत्रहरूमा स्वास्थ्य सेवाहरू लडाइँका कारण बन्द भएका कारण, अस्पतालमा भीड बढेको राहतकर्मी वाइ हुन आङले बताए।
बिहीबार बिहान, अस्पताल भग्नावशेषमा परिणत भएको थियो। छानो भत्किएको, स्तम्भ र बीम चर्किएका र मृतकहरूको शवहरू जमिनमा टसलिएका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेका थिए। यी तस्वीरहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
'स्थिति निकै भयावह छ,' उनले एएफपीलाई भने, 'अहिलेसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ र यो संख्या अझै बढ्नेछ। ६८ जना घाइते छन्, र यो संख्या पनि बढ्ने सम्भावना छ।'
बुधबार राति विस्फोटको आवाज सुनेपछि, म्राउक–उका एक २३ वर्षे युवाले घटनास्थलतर्फ दौडिएका थिए। 'जब म पुगेँ, अस्पताल जलिरहेको थियो,' उनले सुरक्षाका कारण नाम नखुलाउन अनुरोध गर्दै भने।
म्यानमारको एकमात्र हवाई शक्तिका रूपमा रहेको सेनाले विद्रोही नियन्त्रण भएका क्षेत्रमा हवाई हमलाहरू बढाउँदै लगेको छ।
यो वर्ष जनवरीदेखि नोभेम्बरसम्म २,१६५ हवाई आक्रमण भएका छन्, जुन २०२४ को कुल १,७१६ घटनाभन्दा धेरै हो।
कू विरुद्ध बनेका प्रतिरोध समूहहरूले अराकन आर्मी जस्ता ठूला जातीय समूहहरूसँग मिलेर सेनाविरुद्ध धेरै मोर्चामा लडाइँ गरिरहेका छन्।
२०२३ मा युद्धविराम टुटेपछि, अराकन आर्मीले राखाइनका १७ मध्ये १४ वटा नगर क्षेत्रबाट सेनालाई हटाउँदै बेल्जियमभन्दा ठूलो भूभाग नियन्त्रणमा लिएको सिंगापुरस्थित एक इन्सुचयुटको विश्लेषणले बताएको छ।
म्राउक–उ विगत वर्षदेखि अराकन आर्मीको नियन्त्रणमा छ, र त्यहाँ हालै कुनै लडाइँ नभएको समूहका प्रवक्ता खाइन थु खाले बताएका छन्।