काठमाडौँ - काउन्सिल सदस्य पदका उम्मेदवार डा सरोज रतन साहले इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। काठमाडौंको बसुन्धरामा बसोबास गर्दै आएका उनी चिकित्सक समुदायको हितका लागि २२ वर्षको अनुभवसहित विभिन्न तहमा सक्रिय रूपमा सहयोग गर्दै आएका बताएका छन्।
उनले अघिल्ला वर्षमा सिफारिस र परिचयका आधारमा हुने मतदानले प्रभावकारी नेतृत्व कमजोर बनाएको उल्लेख गर्दै, यसपटक वास्तविक योग्यताले स्थान पाउनुपर्ने धारणा राखेका छन्।
उनीले आफूलाई योग्य ठहरिने कारणका रूपमा प्रस्तुत गरेका मुख्य बुँदाहरू यस्तो छन्ः
- पाँच वर्षदेखि काउन्सिलका कामसँगै चिकित्सक समुदायका अन्य आवश्यकतामा निरन्तर सहयोग गर्दै आएको अनुभव
- २२ वर्षको पेशागत पृष्ठभूमि
- स्पष्ट आवाज र सही मुद्दामा दृढतापूर्वक उभिन सक्ने क्षमता
- निरन्तर निर्णय गर्न सक्ने योग्य नेतृत्व शैली
- चिकित्सक समुदायका सुख–दुःखमा अग्रसर भएर सहयोग गर्न तयार रहेको प्रतिबद्धता
- उनीद्वारा सार्वजनिक एजेन्डाहरूः
- काउन्सिल पास भएको दिनकै आधारमा बैंक भौचर बुझाएपछि सोही दिन काउन्सिल नम्बर जारी गर्ने व्यवस्था
- एकपटक अपलोड भएको कागजातलाई बारम्बार पुनःप्रक्रिया गर्नुपर्ने झन्झट हटाउने
- नीति–नियमको कडाइका साथ अनुगमन
- चिकित्सकसम्बन्धी समाचार प्रकाशित हुनुअघि अनिवार्य रूपमा काउन्सिलसँग समन्वय गर्ने व्यवस्था
- काउन्सिल सेवालाई छिटो–छरितो बनाउने
- ‘रेपिड रिस्पोन्स’ टिम निर्माण
- सेवालाई विकेन्द्रित गर्दै प्रदेशस्तरमा सशक्त बनाउने
- प्रमाणपत्र वितरण प्रक्रियालाई व्यवस्थित गर्दै कर्मचारीमार्फत होइन, जिम्मेवार चिकित्सकमार्फत सेवा उपलब्ध गराउने
- दीर्घकालीन लक्ष्य—चिकित्सक परिवार कल्याणकारी कोष स्थापना
उम्मेदवारका अनुसार प्रस्तावित कल्याणकारी कोष मार्फत केवल बिरामी परेका चिकित्सक मात्र नभई कठिन परिस्थितिमा परेका चिकित्सकका परिवारलाई समेत सहयोग पुर्याइनेछ। “सबै सरोकारवालालाई निरन्तर संवादमा ल्याएर यो कोष स्थापना गर्नु मेरो जीवनको लक्ष्य हो,” उनले बताए।