काठमाडौं - आज डिसेम्बर १२, स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस। ‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा, सुलभ स्वास्थ्य सेवाः हाम्रो चाहना’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच भनेको सबै समुदायका मानिसहरुले आर्थिक कठिनाई बिना गुणस्तरीय स्वास्थ्य सेवाहरुमा पहुँच पाउनु हो। स्वास्थ्य प्रवद्र्धनदेखि रोकथाम, उपचार, पुनर्स्थापना र जीवनको उत्तराद्र्धमा चाहिने हेरचाहसम्मलाई समेट्छ र यो सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा सबैलाई उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, जनस्वास्थ्य नियमावली, राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रमहरु मार्फत यी कार्यक्रमहरु सञ्चालन गर्दै आएको हो।
मन्त्रालयले संघीय संरचना पश्चात सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको मन्त्रालयले जनाएको छ। सेवा विहीन जनसंख्यामा समतामूलक सेवा उपभोगको वातावरण निर्माण गर्ने, सेवा प्रवाहलाई सुदृढ गर्ने र त्यस्ता समुदायबाट स्वास्थ्य सेवाको माग बढाउने मन्त्रालयले परिकल्पना गरेको छ।
आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकहरूको कार्य सम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाहरूको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टिकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधारमानी स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने लगायतका नीति कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ।