काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक कार्यक्रम अन्र्तगत एमएस सर्जरी विषयको पाठ्यक्रम विकास गोष्ठी शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ।
गोष्ठीमा बाह्य विषय विज्ञहरु प्राडा शैलेस अधिकारी, प्राडा सुर्यमान मेन्याङ्गबो, डा गणेश थापा, डा बिनोद कुमार कर्ण तथा डा निरोज बनेपाली रहेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र कर्णाली प्रदेश अस्पतालको सहकार्य भएमा कर्णालीको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानले थप उचाई लिने विश्वास गरिएको छ।
कर्णाली प्रदेशका ठुला दुई सेवा प्रदायक निकायहरुबीच आपसी समझदारी भएमा समृद्ध कर्णाली निर्माण सहज हुने प्रतिष्ठानले जनाएको छ।
हाल प्रतिष्ठानमा बाल रोग, हाडजोर्नी, जेनेरल प्राक्टिस, एनेस्थेसिया, जेनरल शल्यक्रिया, स्त्रीरोग, जनस्वास्थ र फार्मेसीमा स्नातकोत्तर तहमा अध्यापन भइरहेको छ। यसै सत्रबाट प्रतिष्ठानले स्त्री रोग विषयमा एमडी अध्यापन गराउने थप अनुमति समेत पाएको छ।