काठमाडौं- डा. पदम नेपालीले नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। डा. मंगल रावलको टिमबाट उम्मेदवारी दिने घोषणा गर्दै उनले नेपालको चिकित्सा क्षेत्र इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको बताए।
डा. नेपालीका अनुसार चिकित्सक उत्पादन र व्यवस्थापनबीचको असन्तुलनका कारण ठूलो संख्यामा चिकित्सक बेरोजगार छन् वा न्यून तलबमा काम गर्न बाध्य छन्। हाल धेरै चिकित्सकले करिब ४८ हजार रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्नुपरेको अवस्था रहेको उल्लेख गर्दै उनले यो पारिश्रमिक दिनको २ हजार रुपैयाँभन्दा पनि कम पर्ने बताए। आवश्यक मात्रामा सरकारी दरबन्दी सिर्जना नहुनु अर्को प्रमुख समस्या भएको उनको भनाइ छ।
उनले सार्वजनिक क्षेत्र र चिकित्सकबीच बढ्दो विश्वासको खाडल, उपचारसँग जोडिएका घटनामा तत्काल भिड र हुलदङ्गाबाट फैसला हुने प्रवृत्तिले चिकित्सकको कार्यस्थल सुरक्षा गम्भीर चुनौती बनेको बताए। 'सुरक्षित वातावरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,' उनले जोड दिए।
यी समस्याको समाधानका लागि चिकित्सक समाजले युवा नेतृत्वसहित चिकित्सक संघमार्फत् सक्रिय रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै डा. नेपालीले वर्तमान परिस्थितिले युवालाई अगाडि आएर छिटो परिणाम देखिने पहल गर्न बाध्य बनाएको बताए।
'चिकित्सकका पेशागत हकहित, सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण र जनविश्वास पुनर्स्थापनाका लागि संगठित र परिणाममुखी नेतृत्व अपरिहार्य छ,' उनले भने।