काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र सिंगापुरस्थित भाइटल स्ट्राटेजिकाजका एशिया–प्यासिफिक कार्यालयका निर्देशक डा. तारा सिंह बमबीच भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री शर्माले सुर्तिजन्य पदार्थका साथै भेप तथा ईसिगरेट नियमनलाई मन्त्रालयले प्राथमिकतामा प्रतिबद्धता जनाएकी छिन्।
भेटका क्रममा डा. बमले भाइटल स्ट्राटेजिकाजका ले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई निकोटिनमुक्त बनाउने लक्ष्यमा भेप र ईसिगरेट जस्ता उपकरण प्रमुख अवरोधका रूपमा देखिएको बताउँदै, ती सामग्रीको नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राखे। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा उनले आग्रह गरे।
जवाफमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनप्रति मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले मन्त्रालयको निर्देशिका अदालतमा विचाराधीन मुद्दाका कारण कार्यान्वयनमा केही जटिलता आएको अवगत रहेको बताउँदै थप छलफलमार्फत समाधान खोजेर अगाडि बढ्ने बताइन्। साथै ईसिगरेट र भेपको नियन्त्रण तथा नियमनका विषयमा पनि मन्त्रालयले आवश्यक पहल गर्ने बताएकी छिन्।
भेटमा मन्त्रालयका तर्फबाट डा भक्त केसी र सुर्तिजन्य पदार्थबिरुद्ध सक्रिय संस्था एक्सन नेपालका अनुसन्धान अधिकृत डा पामिर गौतम र अमित बम समेत सहभागी थिए।
यसैबीच, डा. बमले बन तथा वातावरण मन्त्री माधव चौलागाईंसँग पनि भेटवार्ता गरेका छन्। जनस्वास्थ्यकर्मीसमेत रहेका मन्त्री चौलागाईंले स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको हितमा ल्याउने हरेक प्रस्तावमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले सुर्तीजन्य पदार्थको नियन्त्रण जनस्वास्थ्यका साथै वातावरणीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, आफ्नो मन्त्रालयअन्तर्गतबाट हुनसक्ने सबै पहल लिने विश्वास दिलाए।
