काठमाडौं - रामेछापमा सञ्चालन भएको निःशुल्क दन्त तथा स्त्री रोग विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सय बढीले सेवा लिएका छन्।बाम्तीभण्डारमा चार दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट ६१९ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
कप्तान भारतसिंह बस्नेत सम्झना गुठीको संयोजनमा सगरमाथा हेल्थ फाउण्डेसन र हेल्थ केयर नेपालको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन भएको थियो।
स्त्री रोग विशेषज्ञ शिविरमा परीक्षण, उपचार तथा परामर्श र निःशुल्क औषधि वितरण भएको थियो। दन्त शिविरमा ६ जना दन्त चिकित्सकहरुले दाँत तथा मुख स्वास्थ्य परीक्षण गर्ने, दाँत निकाल्ने, स्केलिङ गर्ने, दाँतको एक्सरे गर्ने लगायतको सेवा दिएका थिए।

दन्त शिविरमा आउने प्रत्येक व्यक्तिलाई आवश्यक औषधिका साथै ओरल तथा डेन्टल हाइनिज प्याकेज पनि निःशुल्क वितरण गरिएको शिविर संयोजक अमृतजंग बस्नेतले जानकारी दिए।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा प्रतिसरा मानन्धर, दन्त विशेषज्ञ दिपकराज जोशी, डा दृष्टिराज जोशी, डा सन्जु कुमारी साह, डा यशोधा पुन मगर, डा अर्पणा कार्की, डा जेनिशा भट्टराई लगायतले सेवा दिएका थिए। साथै प्रदिप आचार्य, कल्पना जोशी, विश्व पराक्रम श्रेष्ठ तथा स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि शिविरमा सहयोग गरेका थिए।

गुठी संस्थापक रुद्रजंग बस्नेतले आगामी दिनमा पनि यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।