काठमाडौं- नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. बद्री रिजालको अध्यक्षतामा बन्ने टिमले उम्मेदवारी दिने तयारी गरेको छ।
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।
डा रिजाल डा तिवारी र डा दवाडीको समिकरणमा बन्ने टिममा रहने अन्य पदका उम्मेदवारहरु लगभग तय भइसके पनि आज मंगलबार पुन: छलफल गरेर टिमको नाम सार्वजनिक गर्ने तयारी भएको टिममा रहेका एक सदस्यले जानकारी दिए।
संघभित्र एकता, पेशागत मर्यादा र सेवामूलक भूमिकालाई सुदृढ गर्ने उद्देश्यसहित टिम अघि बढाइएको जनाइएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै टिमले चिकित्सकहरूको हकहित, संस्थागत सुधार र पेशागत सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ।
यसअघि संघको अध्यक्ष पदका लागि डा मंगल रावलले घोषणा गरिसकेका छन्। संघको महासचिवमा टिम मंगलबाट डा पदम नेपाली र स्वतन्त्र तर्फ डा अमृत भुसालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।