काठमाडौं- नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. दिपेश पौडेल यतिबेला मत माग्दै देशका विभिन्न स्थानमा पुगिरहेका छन्। काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डासहित उम्मेदवारी दिएका उनी देश दौडाहका क्रममा चिकित्सकहरुबाट पाएको साथ र मायापछि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्।
काउन्सिल निर्वाचनका लागि उनको उम्मेदवार नम्बर १३ रहेको छ।
उनले काउन्सिललाई अझ सक्षम, पारदर्शी र चिकित्सकमैत्री बनाउने लक्ष्यसहित सांगठनिक सुधार र कानुनी सुधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्। डा. पौडेलका अनुसार हाल काउन्सिलबाट चिकित्सकले पाउने सेवा झन्झटिलो र समय बढी लाग्खने भएकाले त्यसलाई सहज, सरल र छिटो बनाउने उनको प्रमुख प्रतिबद्धता रहेको छ।
उनले चिकित्सकलाई अस्थायी लाइसेन्स दिने प्रचलन हटाउनुपर्ने आवश्यकता औंल्याउँदै स्थायी, स्पष्ट र व्यावसायिक मापदण्डमा आधारित लाइसेन्स प्रणाली लागू गरिनुपर्ने बताए। साथै, काउन्सिलको सेवा केन्द्रित काठमाडौंमै सीमित रहेकाले त्यसलाई प्रदेश र जिल्लास्तरसम्म विस्तार गर्दै सेवा विकेन्द्रिकरण गर्ने योजना रहेको उनको भनाइ छ।
काउन्सिललाई पूर्ण रूपमा डिजिटल बनाउने एजेन्डा अघि सार्दै डा. पौडेलले अनलाइन दर्ता, नवीकरण, उजुरी व्यवस्थापन तथा सूचना प्रवाह प्रणाली प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। यसले चिकित्सक र सेवाग्राही दुवैलाई सहजता प्रदान गर्ने उनको दाबी छ।
त्यस्तै, उपचार गाइडलाइनको स्पष्ट व्यवस्था गर्दै चिकित्सकका नाममा गैर–चिकित्सकहरूले गरिरहेको अवैध अभ्यास रोक्न कडा कानुनी प्रबन्ध आवश्यक रहेको उनले बताएका छन्। यसका लागि प्रभावकारी अनुगमन र दण्ड प्रणाली लागू गरिनुपर्ने उनको जोड छ।
डा. पौडेलले विभिन्न स्वास्थ्यसम्बन्धी काउन्सिलहरूबीच समन्वय अभाव रहेको उल्लेख गर्दै अन्तर–काउन्सिल सहकार्यलाई मजबुत बनाउने एजेन्डा पनि अघि सारेका छन्। यसले स्वास्थ्य क्षेत्रको समग्र गुणस्तर सुधारमा टेवा पुग्ने उनको विश्वास छ।
चिकित्सकको पेशागत मर्यादा, सेवाको गुणस्तर र बिरामीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतासहित आफूले उम्मेदवारी दिएको डा. पौडेलले बताएका छन्।