काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुनेछ।
आगामी निर्वाचनका लागि संस्थापन पक्षबाट हालका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजालको नेतृत्वमा टिम बनाएर उम्मेदवारी दिने तयारी गरिएको छ। डा. रिजाल नेतृत्वको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने महासचिव पदमा डा. विश्वराज दवाडीले उम्मेदवारी दिने तयारी गरेका छन्। त्यस्तै डा संयुक्त आचार्यले कोषाध्यक्षमा उम्मेदवारी दिने तय भएको छ।
डा. दवाडीले यसअघि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर संस्थापन पक्षको सहमतिपछि डा. रिजाल र डा. तिवारीको टिममा महासचिव पदमा रहने निर्णय गर्दै उनले महासचिवमै उम्मेदवारी दिने भएका हुन्।
यता संस्थापन इतर समूहबाट डा. मंगल रावलको नेतृत्वमा ‘टिम मंगल’ बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ। टिम मंगलबाट अध्यक्षमा डा. मंगल रावल, उपाध्यक्षमा डा. टंक प्रसाद बराकोटी र डा. अरुण शाहीको नाम तय गरिएको छ। महासचिव पदमा भने डा. कालु सिंह खत्रीले उम्मेदवारी दिने डा. रावलले जानकारी दिएका छन्।
यसैबीच, तेस्रो धारबाट पनि प्रतिस्पर्धा हुने चर्चा चलेको छ। हालसम्म उक्त धारबाट महासचिव पदमा डा. अमृत भुषालले उम्मेदवारी घोषणा गरेका छन्। अन्य पदका उम्मेदवार भने सार्वजनिक भइसकेका छैनन्।