काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्य पदका उम्मेदवार डा. रविन बस्नेतले मतदातासम्म पुग्न नवीन र सिर्जनात्मक उपाय अपनाउँदै मत मागिरहेका छन्।
चिकित्सकहरू अध्ययनशील हुने र सधैं अपडेट भइरहने विशेषतालाई ध्यानमा राख्दै डा. बस्नेतले आफ्ना चुनावी एजेन्डा समेटिएको बुकमार्क तयार पारेका छन्। उनी पुस्तक पढ्ने क्रममा प्रयोग गर्न मिल्ने उक्त बुकमार्क मतदातालाई वितरण गर्दै हिँडिरहेका छन्। डा. बस्नेतका अनुसार यो बुकमार्क केवल प्रचार सामग्री मात्र नभई, निर्वाचनपछि पनि मतदाताले हरेकपटक किताब खोल्दा आफ्नो एजेन्डा सम्झेर ‘के काम भयो, के हुँदैछ’ भनेर प्रश्न गर्न सकून् भन्ने उद्देश्यले तयार गरिएको हो।
उनले यसलाई पारदर्शिता र जवाफदेहिताको अभ्यासको रूपमा प्रस्तुत गर्दै यस्तो नवीन सोचसहित मत मागिएको बताएका छन्।
यसका साथै डा. बस्नेतले डिजिटल प्रविधि र सामाजिक सञ्जालमा पनि नयाँ–नयाँ शैली र माध्यम प्रयोग गरी मतदातासँग संवाद गरिरहेका छन्। अनलाइन प्लेटफर्ममार्फत आफ्ना धारणा, एजेन्डा र अभियान गतिविधि सार्वजनिक गर्दै युवा चिकित्सकलाई आकर्षित गर्ने प्रयास भइरहेको उनले बताएका छन्।
‘युवा ऊर्जा, सक्षम काउन्सिल’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका डा. बस्नेतका प्रमुख एजेन्डामा काउन्सिल सुधार, सहज र चिकित्सकमैत्री सेवा, कानुनी तथा संरचनागत सुधार, काउन्सिलको डिजिटल रूपान्तरण र सेवा विकेन्द्रिकरण रहेका छन्।
नवीन सोच, डिजिटल पहुँच र जवाफदेहितालाई जोड दिँदै डा. बस्नेतले नेपाल मेडिकल काउन्सिललाई समयसापेक्ष र सक्षम संस्था बनाउने प्रतिबद्धता जनाएका छन्।