काठमाडौं- नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचनमा सदस्य पदका उम्मेदवार डा. सरोजकुमार गोहिबारले काउन्सिल सुधार, पारदर्शिता र चिकित्सकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राख्दै मत मागिरहेको जानकारी दिएका छन्।
काउन्सिल निर्वाचनका लागि मतदाता नम्बर २९ रहेका डा गोहिबार काठमाडौं उपत्यका बाहिर मत माग्न विभिन्न स्वास्थ्य संस्थामा पुगेका छन्।
डा. गोहिबारले निष्पक्ष र पारदर्शी लाइसेन्स परीक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार लाइसेन्स परीक्षालाई पूर्ण रूपमा डिजिटल बनाउँदै समयमै नतिजा प्रकाशन, आवश्यकताअनुसार अतिरिक्त परीक्षा सञ्चालन तथा काठमाडौं उपत्यका बाहिर पनि परीक्षा केन्द्रको व्यवस्था गरिनुपर्ने आवश्यकता छ।
चिकित्सकहरूको निरन्तर व्यावसायिक विकासलाई लक्षित गर्दै उनले सिपिडी कार्यक्रमलाई अपग्रेड गर्ने र शहरी क्षेत्रमै सीमित नराखी देशभरका चिकित्सकलाई समान रूपमा पहुँच हुने व्यवस्था मिलाउन पहल गर्ने बताएका छन्।
पोस्ट–ग्राजुएट तालिमतर्फ उनले फेलोसिप कार्यक्रमहरूमा मापदण्डको एकरूपता आवश्यक रहेको उल्लेख गरेका छन्। समान पाठ्यक्रम, समान मूल्यांकन र समान निरीक्षण प्रणाली लागू गरिनुपर्ने उनको धारणा छ।
काउन्सिल प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धतासहित डा. गोहिबारले नेपाल मेडिकल काउन्सिलका बैठक निर्णय, निरीक्षण प्रतिवेदन तथा आर्थिक विवरणहरू सार्वजनिक पहुँचमा ल्याउने बताएका छन्।
उनले अस्थायी लाइसेन्सको हालको व्यवस्थामा सुधार गर्दै एक वर्षे परीक्षण अवधिको व्यवस्था गर्ने र पोस्ट–ग्राजुएसन अध्ययनका लागि आवश्यक मानिएको एक वर्षको अनुभव हटाउने एजेन्डा पनि अघि सारेका छन्।
इन्टर्न अफिसर तथा सर्जिकल विशेषज्ञहरूले भोग्दै आएका व्यावहारिक समस्याको समाधानका लागि काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ। साथै, चिकित्सकहरूलाई मेडिकोलेगल इस्यु कम गर्न तथा चिकित्सक र बिरामीबीचको संवाद सुदृढ बनाउन तालिम आवश्यक रहेको उनले बताएका छन्।
डा. गोहिबारले गैर–चिकित्सकबाट भइरहेको अवैध चिकित्सा अभ्यास नियन्त्रण गर्न प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउँदै यसमा काउन्सिलको भूमिका सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, नेपाल मेडिकल काउन्सिलको न्यायिक क्षेत्राधिकारलाई अझ सक्षम र सबल बनाउने एजेन्डा पनि उनले अघि सारेका छन्।
चिकित्सकको पेशागत हित, सेवाको गुणस्तर र संस्थागत सुधारलाई केन्द्रमा राख्दै डा. सरोजकुमार गोहिबारले नेपाल मेडिकल काउन्सिललाई समयसापेक्ष, पारदर्शी र विश्वसनीय संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।