काठमाडौं - नेपाल मेडिकल काउन्सिल (एनएमसी)को सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुलीले काउन्सिललाई आधुनिक, पारदर्शी र डाक्टर–मैत्री संस्थाका रूपमा रूपान्तरण गर्ने स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्। उनले डिजिटल सेवा, निष्पक्ष नियमन, नैतिक स्वास्थ्य सेवा र प्रादेशिक पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। आफूले मतदान हुने २० वटै बुथमा पुगेर मत मागेको बताउँदै उनले अघि सारेका एजेन्डा यस्ता छन्:
डाक्टर–मैत्री डिजिटल वनस्टप सेवा र पारदर्शी परिषद्
डा. पराजुलीले दर्ता, नवीकरण, प्रमाण–प्रमाणिकरणदेखि गुनासो समाधानसम्म सबै सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने योजना अघि सारेका छन्। यसले लामो लाइन, अनावश्यक कागजी प्रक्रिया र ढिलाइ अन्त्य गर्ने उनको दाबी छ। रियल–टाइम अपडेट, स्पष्ट समयसीमा र खुला सञ्चारमार्फत् पारदर्शी प्रणाली विकास गरी डाक्टरलाई सम्मानित र सुरक्षित सेवा अनुभव दिलाउने उनको प्रतिबद्धता छ।
न्यायपूर्ण र पक्षपातरहित पेशागत नियमन
उनका अनुसार पेशागत नियमन निष्पक्ष, स्पष्ट र सबैका लागि समान हुनुपर्छ। क्षेत्र, पृष्ठभूमि वा संस्थाका आधारमा फरक व्यवहार नहुने व्यवस्था सुनिश्चित गर्दै स्पष्ट मापदण्ड र समयमै निर्णय गर्ने प्रणाली विकास गरिनेछ। यसले डाक्टरको पेशागत सम्मान जोगाउनुका साथै जनविश्वास थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
नैतिक र उत्तरदायी स्वास्थ्य सेवा
डा. पराजुलीले नैतिकता, जिम्मेवारी र पारदर्शितालाई स्वास्थ्य प्रणालीको आधार मानेका छन्। नियममा सीमित नराखी नैतिक अभ्यासलाई संस्कृतिका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। समर्थनमूलक मार्गदर्शन, स्पष्ट प्रक्रिया र उत्तरदायित्वसहितको वातावरण निर्माण गरेर रोगी र चिकित्सक दुवैका अधिकार सुरक्षित गर्ने लक्ष्य उनले अघि सारेका छन्।
प्रादेशिक तहमा एनएमसी सेवा उपलब्धता
एनएमसीका सेवाहरू केन्द्रमै सीमित राख्नु अन्यायपूर्ण र अव्यावहारिक भएको उल्लेख गर्दै उनले प्रदेश–प्रदेशमा सेवा केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। साधारण दर्ता, प्रमाणिकरण वा कागजी कामका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरी समय, खर्च र झन्झट घटाउने उनको योजना छ।
