काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा विभिन्न विषयमा फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराइने भएको छ।
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले संस्थानअन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल तहको निर्वाह भत्ता प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
यस निर्णयले फेलोसिप अध्ययनरत चिकित्सकहरूको आर्थिक भार केही हदसम्म कम हुने तथा गुणस्तरीय विशेषज्ञ उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। लामो समयदेखि फेलोसिप चिकित्सकले निर्वाह भत्ताको विषयमा गुनासो गर्दै आएका थिए।
सूचना अनुसार निर्णय तत्काल कार्यान्वयनमा जाने छ। उक्त सूचनामा सहायक डिन (परीक्षा) प्राडा. विकास विक्रम सिंह अधिकारीको हस्ताक्षर रहेको छ।
