काठमाडौं- नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) को रोकथाम तथा नियन्त्रणका लागि बहु–क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यसहित एकदिने वन हेल्थ समन्वय कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यशाला नेपाल वन हेल्थ इन्स्टिच्युटले स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा तथा कृषि तथा वन विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको हो।
त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा सम्पन्न कार्यशालामा परिवार कल्याण महाशाखा , पशु सेवा विभाग, वातावरण विभाग, कृषि तथा वन विश्वविद्यालय, बागमती प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, विश्व स्वास्थ्य संगठन, विकास साझेदार संस्था, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
कार्यशालामा जापानी इन्सेफ्लाइटिसको संक्रमणमा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणबीचको अन्तरसम्बन्धलाई स्वीकार गर्ने वन हेल्थ दृष्टिकोणको महत्वलाई विशेष रूपमा जोड दिइयो। विशेषगरी चितवनजस्ता जेई–प्रभावित जिल्लाहरूमा समन्वित निगरानी प्रणाली, एकीकृत प्रकोप प्रतिकार्य र प्रमाणमा आधारित हस्तक्षेपको आवश्यकता बढ्दो रहेको विषयमा सहभागीहरूले छलफल गरे।
प्राविधिक प्रस्तुतीकरणहरूमा जापानी इन्सेफ्लाइटिसको विश्वव्यापी महामारी विज्ञान, राष्ट्रिय जेई कार्यक्रम, निगरानी प्रणाली, खोप रणनीति तथा प्रयोगशाला निदानका विषय समेटिएका थिए। चितवन जिल्लाबाट प्राप्त अनुसन्धान निष्कर्षहरू पनि साझा गरिए, जसमा घरेलु बस्तुहरू जेई संक्रमणका सम्भावित ‘एम्प्लिफाइङ होस्ट’ हुन सक्ने उदीयमान प्रमाण प्रस्तुत गरिएको थियो। यसले मानव र पशु स्वास्थ्य क्षेत्रबीच अझ सुदृढ सहकार्यको आवश्यकता औंल्याएको छ।
पशु स्वास्थ्य र वातावरण क्षेत्रका प्रतिनिधिहरूले हालका नीतिहरू, कार्यान्वयनका चुनौतीहरू तथा जापानी इन्सेफ्लाइटिसको रोकथाम र प्रतिकार्यमा वन हेल्थ सिद्धान्तलाई प्रभावकारी रूपमा एकीकृत गर्ने अवसरहरूबारे प्रकाश पारे।
कार्यशालामा सहभागीहरूले नेपालमा वन हेल्थको संस्थागत तथा कार्यान्वयन प्रक्रिया, बहु–क्षेत्रीय निगरानी, निदान र समन्वित प्रकोप प्रतिकार्य र जापानी इन्सेफ्लाइटिससम्बन्धी ज्ञान अन्तराल पूर्ति गर्न अनुसन्धान र नवप्रवर्तनमाथि छलफल गरेका छन्।
सरकारी निकाय, शैक्षिक क्षेत्र, डब्लुएचओ तथा प्रदेशस्तरीय आपतकालीन प्रतिकार्य संयन्त्रका प्रतिनिधिहरू सहभागी उच्चस्तरीय प्यानल छलफलमा संयुक्त योजना, तथ्यांक आदान–प्रदान र दीगो लगानीको आवश्यकता औंल्याउँदै जेईको बोझ घटाउन र स्वास्थ्य सुरक्षा सुदृढ गर्न सहकार्य अपरिहार्य रहेकोमा जोड दिइयो।
कार्यशालाले संवाद, सिकाइ र सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्दै जापानी इन्सेफ्लाइटिससहित अन्य जनावर-मानवबाट सर्ने रोगहरूको रोकथामका लागि वन हेल्थ दृष्टिकोणलाई अगाडि बढाउने नेपालको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।