काठमाडौं- भारतको नयाँ दिल्लीमा जारी दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिसनल मेडिसिनमा सहभागी हुने क्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स हेन्री पी. क्लुगेबीच भेटवार्ता भएको छ।
भेटका क्रममा माननीय मन्त्री डा. गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन सरकारले उच्च प्राथमिकताका साथ अघि सारेका नीतिगत सुधार, कार्यक्रम तथा नयाँ पहलहरूबारे विस्तृत जानकारी गराइन्। उनले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवा विस्तार, पहुँच र गुणस्तर सुधारमा सरकारले जोड दिइरहेको स्पष्ट पारे।
भेटवार्तामा डब्लुएचओ युरोपका क्षेत्रीय निर्देशक डा. क्लुगेले नेपालको स्वास्थ्य सेवा प्रणालीमा 'आयुर्वेद तथा वैकल्पिक चिकित्सा र आधुनिक चिकित्सा प्रणालीबीचको एकीकरण' प्रति विशेष चासो व्यक्त गरे। उनले नेपालको यो मौलिक अभ्यास उदाहरणीय रहेको उल्लेख गर्दै, यसबाट डब्लुएचओ युरोपले सिक्न र अनुभव आदान–प्रदान गर्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गरेका छन्।
उक्त भेटवार्तामा परम्परागत चिकित्सा पद्धतिको वैज्ञानिक आधार, नीतिगत समायोजन र सार्वजनिक स्वास्थ्य प्रणालीमा यसको उपयोगिताबारे समेत छलफल भएको थियो। दुबै पक्षले भविष्यमा प्राविधिक सहकार्य, ज्ञान आदान–प्रदान र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक प्रतिबद्धता जनाएका छन्।
डब्लुएचओको ग्लोबल समिटमा भएको यस उच्चस्तरीय भेटले नेपालले अघि बढाइरहेको समावेशी र एकीकृत स्वास्थ्य प्रणाली अन्तर्राष्ट्रिय तहमा थप चिनारी पाउने अपेक्षा गरिएको छ।