काठमाडौं- नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
संघको निर्वाचन समितिका अनुसार बुधवार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात प्रथम नामावली सार्वजनिक गरिएको हो। उक्त नामावली अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको हो।
निर्वाचन तालिका अनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजक समेत), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।
निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार उम्मेदवारहरूको मनोनयन उपर दाबी–विरोध गर्न चाहनेले मिति २०८२/०९/०४, शुक्रवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई निवेदन दिन सक्ने जनाएको छ। साथै सोही अवधिभित्र निर्वाचन समितिको इमेल [email protected] मार्फत समेत दाबी–विरोध पेश गर्न सकिने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले सम्बन्धित सबैको जानकारीका लागि प्रारम्भिक नामावली सार्वजनिक गरिएको जनाउँदै तोकिएको समयसीमा भित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।



