नेपालगञ्ज- भेरी अस्पतालमा मृत घोषणा गरी आफन्तलाई हस्तान्तरण गरिएको एक नवजात शिशुमा करिब चार घण्टापछि जीवनको संकेत देखिएपछि पुनः अस्पताल भर्ना गरी उपचार गरिएको भए पनि अन्ततः शिशुको मृत्यु भएको विषयमा स्पष्ट पारेको छ। घटनाप्रति अस्पताल प्रशासनले दुःख व्यक्त गर्दै सञ्चार र परामर्शमा भएको कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार मिति मंसिर २५ गते पेट दुखाइका कारण एक गर्भवती महिला भेरी अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन्। २८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए। उपचारकै क्रममा २९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार गर्भवती महिला अस्पताल आउँदा पाठेघरको पानीको फोका फुटिसकेको (Membrane rupture) अवस्था थियो। गर्भ अवधि केवल २३ हप्ता पुगेको, भिडियो एक्स–रेमा शिशुको तौल ६१७ ग्राम मात्र देखिएको, मुटुको चाल कमजोर रहेको तथा आमालाई ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्था निरन्तरता दिन नसकिने (inevitable abortion) अवस्था थियो। चिकित्सकहरूले आमाको जीवन बचाउन प्राथमिकता दिँदै उपचार गरेको जनाइएको छ।
जन्मका समयमा शिशुमा जीवनका कुनै संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम (Pre-term) र तौल १००० ग्रामभन्दा कम (Extreme low birth weight) भएकाले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्षसहित परिवारलाई हस्तान्तरण गरिएको अस्पतालको भनाइ छ। तर अपवादस्वरूप ‘ सस्पेन्डेड एनिमेसन (Suspended Animation)’ र ‘लाजरस फेनोमेनन (Lazarus Phenomenon)’ जस्ता दुर्लभ अवस्था देखिँदा जीवन संकेत ढिलो गरी देखा परेको उल्लेख गरिएको छ।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुबेदीद्वारा जारी विज्ञप्तिमा अस्पतालले आफ्नो क्षमताअनुसार अधिकतम प्रयास गरेको भए पनि बिरामीका आफन्तसँग सम्भावित परिणामबारे पर्याप्त सञ्चार र परामर्श गर्न नसकिएको स्वीकार गरिएको छ। आगामी दिनमा यस्ता कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालले घटनाबाट परिवारमा परेको पीडाप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।
