काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघकी कार्यवाहक अध्यक्ष रमिला चौलागाईले आगामी पौष १० देखि १२ गतेसम्म लुम्बिनीमा हुने भनिएको संघको अधिवेशनप्रति औपचारिक असहमति जनाएकी छन्। संघको केन्द्रीय समितिको नाममा जारी सूचनामा उनले अधिवेशन सम्बन्धी निर्णय आफ्नो जानकारीबिना गरिएको दाबी गरेकी छन्।
उनका अनुसार मिति मंसिर २२ मा ‘भर्चुअल बैठक’ भन्दै बोलाइएको बैठक वैधानिक प्रक्रियाबाट नबोलाइएको, आवश्यक कोरम नपुगेको र कार्यवाहक अध्यक्षसँग छलफल नगरी एजेन्डा प्रस्तुत गरिएको थियो। बैठकको सुरुवाती समयमा केहीबेर उपस्थित भए पनि प्रक्रियागत त्रुटिका कारण असहमति जनाउँदै बैठकबाट बाहिरिएको चौलागाईले स्पष्ट पारेकी छन्।
चौलागाई भन्छिन्, 'भर्चुअल बैठकबाट कुनै निर्णय भएको छैन, न त बैठकको उपस्थिति र माइनुट तयार गरिएको छ, न त आफूले प्रमाणित गरेको छ।' त्यसैले लुम्बिनीमा अधिवेशन गर्ने भन्ने निर्णय आफ्नो जानकारीमा नरहेको र यदि उक्त समयमा अधिवेशन भएमा आफू उपस्थित नहुने उनले जनाएकी छन्।
साथै, हाल अध्ययन विदामा रहेकाले वैशाखको दोस्रो हप्तामा मात्र कार्यालयमा उपस्थित हुने र त्यसपछि मात्रै संगठनात्मक गतिविधिहरू सञ्चालन गर्न सकिने अवस्था रहेको भन्दै सोही अनुसार कार्य सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ।
