नयाँ दिल्ली -स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससबीच आज पुस ४ गते नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपालका स्वास्थ्य प्रणाली सुदृढीकरणका विविध पक्षमा केन्द्रित रहेर छलफल भएको छ।
भेटका क्रममा मन्त्री डा. गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य सेवा, स्वास्थ्य बीमा प्रणालीको प्रभावकारी कार्यान्वयन तथा औषधि खरिद र व्यवस्थापन प्रणालीमा सुधार ल्याउन सरकारले चालेका नीतिगत तथा व्यवहारिक कदमबारे जानकारी गराइन्। साथै, दिगो र समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको कुरा स्पष्ट पारिन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको उच्च प्राथमिकता र प्रतिबद्धताको प्रशंसा गर्दै सरकारले अघि सारेका सुधार प्रयासहरू सकारात्मक दिशामा रहेको बताउनुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन दिए।
उक्त भेटवार्तालाई नेपाल–डब्लुएचओ सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। यसले नेपालमा स्वास्थ्य क्षेत्रका लक्ष्यहरू हासिल गर्न अन्तर्राष्ट्रिय साझेदारी अझ बलियो हुने अपेक्षा गरिएको छ।