काठमाडौं- नेपाल मेडिकल एशोसिएसन (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेदवार डा. अरुण शाहीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध निर्वाचन समितिमा औपचारिक निवेदन दर्ता गराएका छन्।
डा. शाहीले निर्वाचन समितिलाई सम्बोधन गर्दै दिएको निवेदनमा आफूले नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएको र सो उम्मेदवारी प्रारम्भिक उम्मेदवार नामावलीमा स्वीकार भइसकेको उल्लेख गरेका छन्। २०८२/०९/०३ गते प्रकाशित पहिलो नामावलीमै आफ्नो उम्मेदवारी वैध ठहर भइसकेको अवस्थामा आधारविहीन उजुरीका कारण उम्मेदवारी खारेज गर्नु अन्यायपूर्ण भएको उनको दाबी छ।
निवेदनमा उल्लेख भएअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयनको मितिमा डा. शाही लन्डन, युनाइटेड किङडममा आयोजना हुने ‘ईस्मो इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुन जाने तय भइसकेको थियो। सोही कारण निर्वाचन नियमावलीको प्रावधानअनुसार २०८२/०८/२३ गते डा. विपिन पौडेलका नाममा वारेसनामा दिई उम्मेदवारी दर्ता गराइएको उनले बताएका छन्।
डा. शाहीले नियमावलीमा वारेसनामा नोटरी प्रमाणित हुनुपर्ने व्यवस्था स्पष्ट रूपमा नदेखिएको उल्लेख गर्दै निर्वाचन समितिले २०८२/०८/२८ गते अचानक नोटरी पब्लिकबाट प्रमाणित वारेसनामा ल्याउनुपर्ने सूचना जारी गरेकोमा आपत्ति जनाएका छन्। समितिको सो सूचनाअनुसार नै वारेसनामा नोटरी प्रमाणित गरी पुनः मनोनयन दर्ता गराइएको उनको भनाइ छ।
तर, नोटरी प्रक्रियाका क्रममा आफू देश बाहिर रहेको विषयलाई लिएर प्रतिपक्ष उम्मेदवारले उजुरी दिएको र त्यसैका आधारमा उम्मेदवारी खारेज गरिएको भन्दै उनले प्रश्न उठाएका छन्। यदि नोटरी पब्लिक ऐन २०६३ विपरीत कुनै त्रुटि भएको भए त्यसको जवाफदेहिता नोटरी कार्यालयको हुने, उम्मेदवारको होइन भन्ने उनको तर्क छ।
डा. शाहीले उजुरी परेपछि आफू वा आफ्नो वारेससँग पर्याप्त छलफल नगरी, अत्यन्तै छोटो समयसीमाभित्र जवाफ मागी हतारमा उम्मेदवारी खारेज गरिएको आरोप पनि लगाएका छन्। साथै, आफ्नो व्यक्तिगत कागजात विपक्षी उम्मेदवारलाई उपलब्ध गराइनु संविधानप्रदत्त गोपनीयताको हकविपरीत भएको उनले उल्लेख गरेका छन्।
निवेदनको अन्त्यमा डा. शाहीले नेपाल चिकित्सक संघको मूलमन्त्र ‘एकता, भ्रातृत्व र सेवा’ लाई निर्वाचन प्रक्रियामा पनि कायम राख्न आग्रह गर्दै, एक नेपाली नागरिकको संविधानप्रदत्त उम्मेदवार बन्ने हक सुरक्षित गर्दै उम्मेदवारी खारेजीको निर्णय पुनर्विचार गरिने अपेक्षा व्यक्त गरेका छन्।
यस्तो छ उनको निवेदन
मिति : २०८२/०९/०६
श्रीप्रमुखज्यू,
निर्वाचन समिति, नेपाल मेडिकल एशोसिएसन ।
विषय : उम्मेदवारी खारेज पुनर्विचार सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाल मेडिकल एशोसिएसनको आसन्न निर्वाचनमा म डा अरुण शाही उपाध्यक्ष (बागमती प्रदेश संयोजक)मा वारेसनामा मार्फत् उम्मेदवारी दिएको र सो उम्मेदवारी त्यस निर्वाचन समितिले स्वीकार समेत गरेको पहिलो उम्मेदवारी नामावली प्रकाशनको सूचना २०८२/०९/०३ गते सार्वजनिक सूचनाबाट प्रस्ट नै छ । जबकी उम्मेदवारका लागि आवश्यक योग्यता र कागजात नपुगेका केही नामहरुको उम्मेदवारी नै स्वीकार नभएको उक्त सूचनाले नै प्रमाणित गर्दछ। निर्वाचन समितिले सम्पूर्ण योग्यता र कागजात पूरा गरेको भन्दै उम्मेदवारी लिएर कुनै पक्षको आधारविहिन उजुरीका आधारमा खारेज गरिनु अन्यायपूर्ण कदम भएको हाम्रो ठहर छ।
नेपाल चिकित्सक संघ निर्वाचन समितिले २०८१ /०६/२० गते निर्वाचन कार्यतालिका सार्वजनि गरेको थियो। कार्यतालिका अनुसार २०८२/०९/०२ गते उम्मेदवारी मनोनयन गर्ने तोकिएको थियो। उम्मेदवारी मनोनयन गर्ने उक्त मितिमा म लन्डन, युनाइटेड किङडममा हुन गइरहेको ‘ईस्मो इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुने तय भइसकेको थियो। मिति २०८२ /०८/२३ गते नेपालबाट जाने र २०८२/०९/०३ मात्रै फर्किने तय भएको थियो। त्यसैले नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवार बन्न नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को (१) मा वारेसनामा मार्फत् मनोनयन दर्ता गर्ने प्रावधान अनुसार मैले २०८२/०८/२३ मा डा विपिन पौडेलका नाममा उक्त प्रयोजनका लागि वारेसनामा गरिदिएको थिएँ।
परिच्छेद ४ मा भनिएको छ, 'परिच्छेद ४ को (१) मा भनिएको छ, 'उम्मेदवारको मनोनयन, मतदाताको योग्यता र मतदाता नामावली १. निर्वाचन समितिको निर्वाचन कार्यक्रम अर्न्तगत नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन, संघको शाखा कार्यालयका कार्यकारिणी समितिको निर्वाचन र नेपाल चिकित्सक संघ परिषद्को निर्वाचनमा उम्मेदवार हुन नेपाल चिकित्सक संघको आजीवन नेपाली सदस्य स्वयंले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकमार्फत निर्वाचन कार्यक्रमको सूचनामा उल्लिखित मिति र समयभित्र निर्वाचन समितिको कार्यालयमा तोकिए बमोजिमको ढाँचामा मनोनयन पत्र दर्ता गर्न वा गराउनुपर्नेछ। यसरी मनोनयन पत्र दर्ता गराउँदा एक व्यक्तिले १ पदमा मात्र मनोनयन पत्र दर्ता गर्न गराउन सक्नेछ।'
यहाँ कहीँकतै पनि वारेसनामा नोटरीबाट प्रमाणित गर्नुपर्ने नियम रहेको देखिदैन। तर, २०८२/०८/२८ गते निर्वाचन समितिले एक्कासी नोटरी पब्लिकले प्रमाणित गरेको वारेसनामा ल्याउनुपर्ने सूचना जारी गर्यो। उक्त सूचना अनुसार पहिले दिइएको वारेसनामालाई नै मेरो वारेस डा विपिन पौडेलले नोटरी प्रमाणित गरी मनोनयन दर्ता गराएको हो। सक्कल वारेसनामा सहित वारेस उपस्थित रहेको र वारेस दिनेको मञ्जुरी रहेको प्रमाणित भएपछि मात्रै नोटरी पब्लिकको कार्यालयले नोटरी गरिदिएको हो।
तर, नोटरी गर्दा वारेसनामा दिने व्यक्ति देश बाहिर रहेको विषयमा मेरो प्रतिपक्ष उम्मेदवारले उजुरी दिएको पाइन्छ । जबकी वारेसनामा गर्दा म स्वयंले गरेको र नोटरीले त्यो कागजात सक्कल रहेको प्रमाणित गरेको हो । जुन विषयमा निर्वाचनमा उम्मेदवारका लागि उठ्नु पर्ने नै होइन । यदि नोटरी पब्लिक ऐन २०६३ को विपरित नोटरी गरिएको विषय उम्मेदवारको नभइ नोटरी पब्लिक कार्यालयको जवाफदेहिता विषय रहेको सामान्य दृष्टिबाट बुझिन्छ ।
मेराबिरुद्ध दाबी विरोध २०८२/०९/०४ गते दिउसो १ बजे नै परेपनि अर्को दिन २०८२/०९/०५ गते बिहान ११:११ बजे मात्रै मेरो वारेस डा विपिन पौडेललाई दिउसो २:०० बजेसम्म जवाफ दिनुपर्ने बताइनु र एकपल्ट उम्मेदवारसँग छलफल समेत नगरी उम्मेदवारी खारेज गर्ने त्यस निर्वाचन समितिले निर्णय गरेको छ।
यसले निम्न प्रश्नहरु उठाएको छ :
१. नेपाल चिकित्सक संघको नियमावलीमा उल्लेख नभएको 'नोटरी पब्लिक' गराउने सूचना, ढिलोगरी जवाफ माग र हतारमा खारेजीको कारण भित्र कुनै रहस्य लुकेको छ कि?
२. नोटरी पब्लिक ऐन २०६३ अनुसार प्रमाणित गर्दा प्रक्रिया पूरा भए/नभएको छानविन र फैसला गर्ने अधिकार त्यस निर्वाचन समितिसँग छ वा सम्मानित अदालतसँग ?
३. संविधानप्रदत्त गोपनियता हक उल्लंघन हुनेगरी म अरुण शाहीसँग सम्बन्धित कागजात मेरो विपक्षी डा सुवास भट्टराईलाई हेर्न निर्वाचन समितिले किन दिएको हो ?
अन्त्यमा, नेपाल चिकित्सक संघको मूलमन्त्र एकता, भातृत्व र सेवालाई निर्वाचनको समयमा पनि कायम राख्न त्यस निर्वाचन समितिले सघाउनेछ, आफू आवद्ध संस्थामा उम्मेदवार बन्न पाउने एक नेपाली नागरिकको संविधान प्रदत्त हक नखोसेर उम्मेदवारी खारेजीको निर्णय पुनर्विचार गरिनेछ भन्ने अपेक्षा सहित निवेदन पेश गरेको छु।
डा अरुण शाही
उपाध्यक्ष (बागमती प्रदेश संयोजक)को उम्मेदवार
नेपाल मेडिकल एशोसिएसन