काठमाडौं- संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा दोस्रो विश्व ध्यान दिवस सफलतापूर्वक सम्पन्न गरेको छ। मंसिर ५ गते मनाइएको विश्व ध्यान दिवसको अवसरमा एक सातासम्म सञ्चालन गरिएको कार्यक्रममार्फत नेपालभर ५० हजारभन्दा बढी व्यक्तिले सामूहिक ध्यान अभ्यासमा सहभागिता जनाएका छन्।
आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू, साथै विभिन्न समुदायस्तरमा ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावप्रति बढ्दो चासो र प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।
यसका साथै १ हजारभन्दा बढी सहभागीले सातदिने निर्देशित ध्यान यात्रा (७–डे गाइडेड मेडिटेशन जर्नी) पूरा गरेका छन्। सहभागीहरूले विश्व ध्यान दिवससम्म दैनिक रूपमा ध्यान अभ्यास गरेका थिए।
देशभर सञ्चालन भएका ध्यान सत्रहरू आर्ट अफ लिभिङका प्रशिक्षित शिक्षकहरूद्वारा सहजीकरण गरिएको थियो भने स्वयंसेवकहरूको सक्रिय सहयोगले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
राष्ट्रियस्तरको मुख्य कार्यक्रम काठमाडौंको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय डा. सुधा शर्मा गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा बोल्दै मन्त्री डा. शर्माले मानसिक स्वास्थ्य सुदृढीकरणमा ध्यान, योग र आत्मिक अभ्यासको महत्वमा जोड दिइन्।
उनले बदलिँदो जीवनशैली, बढ्दो तनाव, चिन्ता र अवसादका कारण मानसिक स्वास्थ्य समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्याको रोकथाम र व्यवस्थापनमा ध्यान तथा योगजस्ता अभ्यास प्रभावकारी हुने बताइन्। मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझ्नुपर्ने आवश्यकता पनि उनले औँल्याइन्।
मन्त्री शर्माले सरकारले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिँदै आएको उल्लेख गर्दै समुदायस्तरमै मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सरकारी निकाय, गैरसरकारी संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले आर्ट अफ लिभिङजस्ता संस्थाले समाजमा सकारात्मक सोच, आत्मअनुशासन र मानसिक सन्तुलन प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता पहलले स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा आर्ट अफ लिभिङ एपेक्स बडीका सदस्यहरू, वरिष्ठ शिक्षकहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। साथै मानसिक स्वास्थ्य, ध्यान र योग अभ्यासलाई दैनिक जीवनमा कसरी अपनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो। आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वर कुमार सिंह र महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शन, योग र ध्यानको महत्वबारे आफ्ना धारणा राखेका थिए।
संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो। यो दिवस गत वर्षदेखि मानसिक शान्ति, आत्मिक सन्तुलन र समग्र स्वास्थ्य प्रवर्द्धनका लागि विश्वभर मनाइँदै आएको छ। सन् २०२५ मा यो दिवस दोस्रो पटक विश्वव्यापी रूपमा मनाइएको हो।
गुरुदेव श्री श्री रवि शंकरको “तनावमुक्त र हिंसामुक्त समाज निर्माण” गर्ने दृष्टिकोणलाई आत्मसात गर्दै आर्ट अफ लिभिङ नेपालले यस्ता कार्यक्रममार्फत व्यक्तिलाई आत्मिक रूपान्तरणका व्यावहारिक उपाय प्रदान गर्दै आएको जनाएको छ।
आर्ट अफ लिभिङ नेपालले ध्यान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, शैक्षिक संस्था, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा समुदायप्रति आभार व्यक्त गरेको छ। आयोजकका अनुसार यस व्यापक सहभागिताले नेपालमा शान्ति, सद्भाव र समग्र कल्याणप्रति बढ्दो प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ।