काठमाडौँ- काठमाडौँ नेशनल मेडिकल कलेजले मुटुसम्बन्धी रोगको पहिचान र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
पुस ५, २०८२ शनिबार घट्टेकुलोस्थित काठमाडौँ नेशनल मेडिकल कलेज परिसरमा आयोजित उक्त शिविरमा ५१३ जनाले मुटु सम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। शुभश्री महिला समूह र डिल्लीबजार ४०+ सँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सन्जिता अन्सारी, डा. बक्रुद्दीन अन्सार तथा बाल मुटुरोग विशेषज्ञ डा. विधाता भण्डारी केसीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए।
अस्पताल प्रशासन प्रमुख दिलिप साहका अनुसार शिविरका अवसरमा विभिन्न विशेष सुविधा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क ईसीजी, निःशुल्क टोटल कोलेस्ट्रोल तथा ब्लड सुगर परीक्षण गरिएको थियो भने इको परीक्षणमा ५० प्रतिशत र सबै ल्याब परीक्षणमा ३० प्रतिशत छुट दिइएको थियो। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारीले समुदायको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै अस्पतालले नियमित रूपमा यस्ता निःशुल्क तथा सहुलियत दरका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। “समुदायको स्वास्थ्य हाम्रो मुख्य प्राथमिकता हो। त्यसैले सकेसम्म निःशुल्क र न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेका छौँ,” उनले भने।
यसैगरी अस्पतालका प्रबन्ध निर्देशक डा. बसुरुद्दीन अन्सारीले पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण मुटुरोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण र सचेतना अत्यन्त आवश्यक रहेको बताए। यस्ता शिविरहरूले रोगको प्रारम्भिक पहिचानसँगै आम नागरिकमा स्वास्थ्यप्रति सचेतना फैलाउन सहयोग पुग्ने उनको भनाइ थियो।
स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त शिविरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकारात्मक योगदान पुर्याएको अस्पतालले जनाएको छ।