काठमाडौं- काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले चिरफार नगरी मस्तिष्कको नसा फुटेर भएको गम्भीर रक्तस्रावको सफल उपचार गरी एक महिलालाई नयाँ जीवन प्रदान गरेको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनील शर्माद्वारा सञ्चालित यस अस्पतालमा गरिएको यो उपचार नेपालमै दुर्लभ मानिन्छ।
ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बू केही दिनअघि अत्यन्त गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट काठमाडौं मेडिकल कलेज (केएमसी) रेफर भएकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एम्बुलेन्समार्फत अस्पताल ल्याउँदा उनको मस्तिष्कमा अत्यधिक रगत जमिसकेको थियो। चिकित्सकहरूका अनुसार उपचारमा केही घन्टा ढिलो भएको भए ज्यान जोखिममा पर्न सक्ने अवस्था थियो।
एनजियोग्राफी उपचारकै क्रममा मस्तिष्कको नसा फुटेको अवस्थामा गरिएको यो सफल उपचार नेपालकै दुर्लभ घटनामध्ये एक हो। नेपालमा डीएम न्युरो–इन्टरभेन्सनिस्ट तथा बाइ–प्लेन क्याथल्याब प्रविधि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपलब्ध छ।
केएमसी पुगेलगत्तै न्युरो–इन्टरभेन्सनिस्ट तथा इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार सुरु गरिएको थियो। त्यतिबेलासम्म पनि मस्तिष्कमा रक्तस्राव जारी नै थियो। चिकित्सकहरूले बिरामीको खुट्टामा सानो प्वाल पारेर धमनीमार्फत तार र मसिनो पाइप प्रयोग गरी मस्तिष्कभित्रको फुटेको नशा (एन्युरिज्म) सम्म पुर्याए र रगतको बहाव सही दिशातर्फ मोडिदिए।
औषधि विज्ञानमा यो प्रक्रियालाई फ्लो डाइभर्टर एन्ड कोइलिङ भनिन्छ, जुन मस्तिष्कमा रक्तस्राव भएका बिरामीको उपचारमा अत्यन्त प्रभावकारी मानिन्छ। यसपछि रक्तस्राव बन्द भयो र जमेको रगत बिस्तारै सुक्दै केही समयमै हराउने प्रक्रिया सुरु भयो।
कुनै ठूलो चिरफार नगरी करिब साढे दुई घन्टासम्म चिकित्सक टोलीको अथक प्रयास सफल भयो र राधिकाले नयाँ जीवन पाइन्। हाल उनी अस्पतालको आईसीयूमा स्वास्थ्य लाभ गर्दै घर फर्कने तयारीमा छिन्। उपचारमा संलग्न चिकित्सक र नर्सहरूलाई उनले खुसी व्यक्त गर्दै धन्यवाद दिएकी छन्।
आमाको सफल उपचारपछि छोरी अनुशाले भनिन्, “यो प्रविधिबाट उपचार गर्दा शरीरमा कुनै दाग बस्दैन, बिरामी छिटो सामान्य अवस्थामा फर्कन्छ, अस्पताल बसाइ छोटो हुन्छ र उपचार सफल हुने सम्भावना पनि उच्च हुन्छ।”
उनका अनुसार यो प्रविधि जुनसुकै उमेरका बिरामीमा प्रयोग गर्न सकिन्छ। शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगी बिरामीका लागि पनि यो उपचार उपयुक्त छ र लामो समय तथा खर्च लाग्दैन। यसअघि यस्तो उपचारका लागि विदेश जानुपर्ने बाध्यता रहे पनि केएमसीमा सुविधा उपलब्ध भएपछि नेपालमै सम्भव भएको छ।
काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनील शर्माद्वारा सञ्चालित संस्था हो। डा. शर्माले निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा सामाजिक उत्तरदायित्वमूलक गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएका छन्।